काठमाडौं- नेपाल बीमा प्राधिकरणले काठमाडौंमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेर बीमा उद्योगमा ‘जोखिममा आधारित पूँजी’ कार्यान्वयनको एक वर्षको अनुभव, प्रगति, चुनौती र आगामी योजनाहरूको समीक्षा गरेको छ।
कार्यक्रममा प्रमुख बीमा कम्पनीका प्रतिनिधि, बीमक संघका अध्यक्षहरू, प्राधिकरणका पदाधिकारीहरू तथा आरबीसी फोकल पर्सनहरूको उपस्थिति थियो।
कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूको त्रैमासिक आरबीसी प्रतिवेदनलाई अबदेखि नियमितरूपमा विश्लेषण गरिने बताए। उनले बीमा ऐन अनुसार पुस मसान्तभित्र वित्तीय विवरण स्वीकृत हुनुपर्ने कानुनी व्यवस्था भएकाले तिमीहरू समयमै विवरण बुझाउनुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष ओझाले भने, “जनताको पैसाको सुरक्षा गर्न तिमीहरूले लगानी विविधीकरण त गर्नैपर्छ, तर त्यो लगानी ठ्याक्कै सही ठाउँमा हुनुपर्छ। लगानी प्रस्ताव अघि ल्याउनु भन्दा पहिले कम्पनीको लगानी समितिले राम्रो अध्ययन–विश्लेषण गर्नुपर्छ।”
उनले क्यापिटल चार्जको व्यवस्था हाम्रो देशजस्ता मुलुकको सन्दर्भअनुसार गरिएको जानकारी दिँदै यदि आवश्यकता परेमा सुधार गर्न प्राधिकरण सधैं तयार रहेको पनि स्पष्ट पारे।
अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई सरकारद्वारा जारी हुने ऋणपत्रहरूमा लगानी गर्ने प्रयास सुरु गर्न आग्रह गर्दै, त्यसका लागि छुट्टै संयन्त्र आवश्यक पर्ने उल्लेख गरे ।
कार्यक्रममा कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अहिले आरबीसी कार्यान्वयनको अवस्था संक्रमणकालीन रहेको बताउँदै कम्पनीहरुले जोखिम न्यूनीकरणमा साझा दृष्टिकोण बनाउँदै अघि बढ्नुपर्ने सुझाव दिए। निर्देशक पुजन ढुंगेलले अधिकांश बीमकहरूले आरबीसीको लक्ष्य पूरा गरिसकेको जानकारी दिए ।
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले आरबीसी कार्यान्वयनलाई बीमा क्षेत्रका लागि ठूलो उपलब्धि भन्दै अब यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने धारणा राखे।
कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले आरबीसीको प्रगति, चुनौती र आगामी रणनीतिबारे प्रस्तुति दिएकी छिन् भने कार्यक्रम सञ्चालन सहायक निर्देशक करूणा थापाले गरेकी हुन् ।
प्रतिक्रिया