समाचार टिप्पणी

नागरिकले मृत्यु नै रोज्नु परेपछि सरकार हुनुको के अर्थ भयो र ?

मंगलबार, ०३ असार २०८२, १३ : ५१

 काठमाडौं - आत्महत्या कुनै पनि समस्याको समाधान होइन तर पनि मानिसहरु आत्महत्या गर्न तयार हुन्छन् । यसका पछाडि विभिन्न कारणहरु हुन्छन् । प्रद्धि समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो पुस्तक ‘आत्महत्या’ मा यसका कारणहरुको विस्तृत चर्चा गरेका छन् । आर्थिक, सामाजिक, मनोवैज्ञानिक विभिन्न कारणहरुको आत्महत्यामा महत्वपूर्ण भूमिका रहेको उनले व्याख्या गरेका छन् । 

नेपाली समाज पनि आत्महत्या जस्तो गम्भीर अवस्थाबाट गुज्रीरहेको छ ।  फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्। उनको अवस्थाले यो केसलाई फेरि सतहमा ल्याइदिएको छ । संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका प्रेम आचार्यको अवस्था र डा. केशव श्रेष्ठ दुवैको स्थितिमा राज्यको लाचारी जोडिएको छ । यद्यपी आत्महत्या नै अन्तिम विकल्प रोज्नु उनीहरुको सही निष्कर्श होइन । तापनि उनीहरु किन आत्महत्या जस्तो अप्रिय विकल्प रोज्न बाध्य भए भन्ने बारेमा राज्य संवेदनशील बन्न भने जरुरी छ । आचार्य जति प्रयत्न गर्दा पनि आर्थिक समस्याबाट निस्कन नसक्दा मर्न खोजेको देखिन्छ भने श्रेष्ठ जति राम्रो काम गर्न खोज्दा पनि जस नपाउने र झनै अन्यायमा पर्दै गएको तथा राज्यले आफ्नो समस्यालाई नसुनिदिएको जस्ता कारण देखिन्छन् । 

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए। उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।  

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा।श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए। 

राज्यमा यदि सुशासन हुन्थ्यो भने श्रेष्ठलाई बिनाकारण दुख दिने र आत्महत्या गर्ने अवस्थामा पुर्याउनेहरु कानुनको दायरामा आइसकेका हुन्थे । जसको कारण पुरस्कार र दण्डको व्यवस्था व्यवहारमा कार्यान्वयन भएको हुन्थ्यो । मुलुक दण्डहिनताको अवस्थाबाट ग्ज्रिनुपर्ने थिएन । धन्न, केशव श्रेष्ठको प्रहरुीले सकुशल उद्धार गर्यो । फेरि पनि अन्य कसैले पनि केशवको बाटो अपनाउन नपरोस् भन्नेतर्फ राज्यको ध्यान जाओस् । नागरिकले सबै प्रकारका विकल्प छोडेर मृत्यु रोज्नुपर्ने अवस्थाको अन्त्य भएन भने सरकार हुनुको पनि के अर्थ रह्यो र ?  

मंगलबार, ०३ असार २०८२, १३ : ५१

प्रतिक्रिया