नेता भ्रष्ट हुनुमा जनताको पनि कमजोरी

विहीबार, २४ पुस २०८२, १३ : ५२

काठमाडौं - नेपालमा मूल धारका राजनीतिक दलहरु र तिनका नेताहरुको आलोचनामा धेरै समय खर्च भैसकेको छ । तर पनि तिनै नेताहरु र दलहरुको बर्चस्व अहिले पनि कायमै छ । नेताहरू बिग्रनुमा जनता पनि उत्तिकै जिम्मेवार छन् । गलत नेतालाइृ पटक पटक भोट हालेको कारण राजनीतिमा स्च्छता आउन सकेको छैन । जनताका वास्तविक मुद्धा उठाउनेहरु ओझेल पर्ने र ठगहरु नायक बन्ने परिस्थति बनेको छ । यसका उदाहरण बग्रेल्ती छन् । 

देश र जनतालाई झुक्याएर नक्कली नागरिकता प्रयोग गर्ने, सहकारी ठगीको आरोप खेपिरहेका, भ्रष्टाचारमा मुछिएका वा संकट पर्दा भाग्ने केही नेताहरूलाई समेत कतिपयले ‘हिरो’ बनाइरहेका देखिन्छ । यिनै कारणले राजनीति र राजनीतिक चेतनाप्रति आम नागरिकमा गहिरो निराशा बढ्दै गएको छ । यो अवस्था हुन भनेको देशकै दुर्भाग्य हो । 

जनआन्दोलन र राजनीतिक संकटका बेला देशभन्दा आफ्नै ज्यान जोगाउन हेलिकोप्टर चढेर भागेका नेताहरू आज फेरि उत्तेजक अभिव्यक्ति दिँदै जनतालाई भड्काइरहेका छन् । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने नेताले अहिले लाज पचाएर पुनःस्थापनाको पक्षमा बोल्नु आफैँमा राजनीतिक विडम्बना हो । यस्ता अभिव्यक्तिमा पार्टी कार्यकर्ता ताली बजाउँदै समर्थन जनाइरहेका देखिन्छन् । आगमाी निर्वाचनमा पनि यिनै नेताहरुले निर्वाचन जिेत भने कुनै आश्चर्य मान्नु पर्दैन । किनभने नेपाली जनताले इतिहासमा देशको लागि योगदान गर्ने इमान्दार मान्छेलाई न्याय गर्न नसकेका घटनाहरु  पनि छन् । यसैलाई ‘सतीको रसाप’ पनि भन्ने गरिएको छ । 

२०७९ सालको आम निर्वाचनपछि दलहरुमा नेतृत्व परिवर्तनको मुद्धा उठ्न थालेको छ । नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ पुस्ताको चाहनालाई सम्बोधन हुनेगरी दलहरुले आफ्ना नीति र कार्यक्रम बनाउनुपर्ने आवाज सशक्त रुपमा उठेको छ । तर पुराना दलहरु भदौ २३ र २४ को घटनालाई अहिले चटक्कै बिर्सेर अघि बढिरहेको देखिन्छ । यसको लागि पुराना दलहरूभित्रै रहेका युवा पुस्ताले पनि नेताको दासत्वबाट मुक्त भएर सही–गलत छुट्याउन सक्नुपर्छ । राम्रो कामको समर्थन र गलत कामको विरोध गर्न नसक्नु नै राजनीतिमा पतनको मूल कारण बनेको छ ।

२०७९ को निर्वाचनपछि नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायत दलहरू मूलधारको राजनीतिमा स्थापित भए । यी मध्ये राप्रपा राजावादी दलका रूपमा चिनिन्छ भने रास्वपा वैकल्पिक दलको रूपमा । तर रास्वपाका सभापति नै सहकारी ठगी प्रकरणमा जेलमा पर्नु र आलोचना गर्नेहरूलाई असभ्य गाली गर्नुले वैकल्पिक राजनीतिप्रति पनि प्रश्न उठाएको छ । उनी आफै विगतमा एमाले कांग्रेस र माओवादीको सहयोगीको रुपमा सरकारमा सहभागी भएर आफ्नो मुखुण्डो उतारिसकेका छन् ।  

अहिले पनि पुराना दलहरूमा लाखौँ कार्यकर्ता छन् । तर तीमध्ये धेरै अझै दास मानसिकतामा अल्झिएको देखिन्छ । अब ती दलहरू जोगिन चाहन्छन् भने तेस्रो पुस्ताले नेतृत्व सम्हाल्नैपर्छ । नेताको गलत कार्यशैलीको विरोध गर्न नसक्दा नै आज कतिपय नेताले भाग्नुपरेको, वृद्ध नेताले समेत कुटाइ खानुपरेको अवस्था आएको हो । जेनजि आन्दोलन अघिको नेपाल र पछिको नेपाललाई भिन्न आँखाले हेर्न नसक्नु ठूला र पुराना दलहरुको ठूलो कमजोरी हो । 

लोकतन्त्रमा राजनीतिक दल अपरिहार्य छन्, तर ती दलभित्रका अहंकारी र भ्रष्ट नेताहरूलाई छानेर इमानदार, कर्मठ र योग्य व्यक्तिलाई अघि बढाउन आवश्यक छ । अन्ततः दोष नेता मात्र होइन, मतदाताको पनि हो । पाँच वर्ष गाली गर्ने तर चुनावमा फेरि उही नेतालाई भोट दिने प्रवृत्ति बदल्नैपर्छ । राजनीतिक दल, नेता–कार्यकर्ता र आम मतदाता सबै सचेत, इमानदार र जिम्मेवार बने मात्र देशले सही दिशामा अगाडि बढ्न सक्छ ।

विहीबार, २४ पुस २०८२, १३ : ५२

प्रतिक्रिया