काठमाडौं - यतिबेला मुलुक चुनावमय बनेको छ । यसपटकको चुनावी माहोल विगतको तुलनामा केही नयाँ पनि बनेको छ । यसको एउटा महत्वपूर्ण पक्ष भनेको नयाँ र पुरानो भन्ने रहेको देखिन्छ ।
आसन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले पुरानो शक्तिलाई ‘आइसोलेटेड’ गर्नुपर्छ भन्ने कुराको भावनात्मक ‘अल्गोरिदम’ समाजमा व्याप्त बनेको र यसको प्रभाव सबै तहका मान्छेसम्म पुगेको जस्तो देखिएको छ । विशेषगरी सूचना प्रविधिको सञ्जालमा बेरिन पुगेको समाजमा अल्गोरिदमको कारण चुनावी नतिजा प्रभावित हुन सक्छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
साथै, पुराना शक्तिले मुलुकको लोकतान्त्रिक इतिहास निर्माणमा ठुलो योगदान गरे पनि लामो अपारदर्शी राजनीतिक अभ्यासले गर्दा अहिले सो पक्षले ‘नयाँ’को अभियान सञ्चालन पक्षलाई तार्किक जवाफ दिनसक्ने बलियो आधार छैन । जसले गर्दा मुलुकको भविष्यको विषयमा धेरै रूपरेखा निर्माण नगरीकनै नयाँ भनेकै आधारमा राजनीतिक शक्ति निर्माणको प्रयत्न भएको पाइन्छ ।
आजको अवस्था आउनुमा धेरैले विशेषगरी राजनीतिक शक्तिको राजनीतिक व्यवस्था रूपान्तरणको अभियानमा भएको कमजोरी नभएर मुलुकमा राजनीतिक रूपान्तरणसँगै आर्थिक विकासको विषय सँगसँगै लैजान नसक्नु हो । राजनीतिक सचेतताको विकास वा स्वतन्त्रता प्राप्ति सँगसँगै मुलुकको आर्थिक विकाससँगै जान नसक्दा नेतृत्वको क्षमतामा प्रश्न उठ्ने ठाउँहरू बन्दै गएका हुन् र राजनीतिक शक्ति सन्तुलनमा आजको स्थिति पैदा भएको हो भनेर भन्न सकिन्छ ।
आजको विश्व परिस्थितिलाई हेर्दा विश्वमा कुनै पनि एउटै विचारधाराको पक्षले लामो समयदेखि राज्यसत्ता सञ्चालन गरिरहेको छैन । तर धेरै देशका राज्यव्यवस्था भने स्थिर हिसाबले लामो समयसम्म सञ्चालन भइरहन भने सफल भएको देखिन्छ । मूलतः पुँजीवादी वा समाजवादी वा उदारवादी वा कम्युनिस्ट जुनसुकै ढंगले सञ्चालन भएका राज्यव्यवस्थाहरूले आर्थिक विकास र लगानीको वातावरणलाई सन्तुलनमा राख्न सक्दा ती मुलुक बलियो हुन पुगेको देखिन्छ । यद्यपि विश्वमा विकसित देखिने कतिपय मुलुकमा भने लोकतन्त्र र अधिकारको प्रश्न भने कमजोर छ ।
पहिलेदेखि नै नेपाल भौगोलिक र साधन स्रोतको हिसाबले सम्भावना भएको मुलुक हो भनेर औंल्याउँदै आएको पाइन्छ । सतही रूपमा हेर्दा पनि हिमालदेखि तराईसम्मको पर्यटन अनुकूल भूगोल, जलस्रोतको प्रशस्तता, उत्पादनयोग्य भूमि, जंगल, जडीबुटीलगायतको भण्डारले पनि नेपाल धेरै सम्भावना बोकेको मुलुक हो भनेर भन्न सकिन्छ ।
कुनै पनि मुलुकको समृद्धिको पछाडि त्यहाँको राजनीतिक नेतृत्वले देख्ने सपना नै मुख्य हुन्छ । तर विडम्बना हाम्रो मुलुकको नेतृत्वले अहिलेसम्म मुलुकलाई समृद्धितर्फ डो¥याउन सक्ने सपना देख्न नै सकेनन् जसले गर्दा पटकपटकका राजनीतिक क्रान्तिपश्चात् पनि मुलुकले समृद्धिको गुणात्मक गति लिन सकेन ।
नेतृत्वको चौतर्फी गतिहीनताको कारण नै नयाँ पुस्ताले अनुभवी पुरानो पुस्तालाई दुत्कार्ने अवस्था सिर्जना भएको हो र आजको नयाँ राजनीतिक संक्रमण पैदा भएको हो । एउटा ठूलो उथलपुथलबाट गुज्रेको नेपालको लागि फागुन २१ को आम निर्वाचन महत्वपूर्ण अवसर हुन सक्तछ । कुनै बहकाउमा नलागेर मतदाताले सचेतनतापूर्वक विवेक प्रयोग गर्न सकेको खण्डमा देशले काँचुली फेर्न असम्भव छैन । त्यसको लागि राजनीतिक दलहरुका कोरा नारा मात्र नहेरेर समृद्धीका आर्थिक योजना र दृष्टिकोण पनि महत्वपूर्ण हुन्छन् । आशा गरौं यस निर्वाचनमा नेपाली मतदाताले ज्यादै सुझबुझ प्रयोग गरेर नेतृत्वको छनौट गर्नेछन् ।
प्रतिक्रिया