काठमाडौं– नेपालको राजनीतिक इतिहासमा वर्ष २०८२ एउटा निर्णायक मोडको रूपमा सम्झन सकिने वर्ष बनेको छ । पुराना शक्ति केन्द्रहरू कमजोर हुँदै जाँदा नयाँ, स्वतन्त्र र विद्रोही अनुहारहरूले संसदीय चुनावमार्फत जनमत कब्जा गर्दै सत्तारोहण थालेका छन्। यही आँधीमय परिवर्तनले एकातिर बालेन शाह र सुधन गुरुङजस्ता पात्रलाई राजनीतिक उचाइँमा पुर्याएको छ भने अर्कोतर्फ केपी शर्मा ओली र शेरबहादुर देउवा जस्ता स्थापित नेताहरूलाई किनाराकृत गरेको छ ।
नेपालको राजनीतिक यात्रामा वर्ष २०८२ तीव्र उतारचढाव, शक्ति सन्तुलनको फेरबदल र चुनावी मतादेशले नयाँ दिशाको संकेत गर्ने वर्ष समेत बन्न पुग्यो । परम्परागत दल र नेताहरूको पकड कमजोर बन्दै जाँदा वैकल्पिक अनुहारहरूको उदय, केही नेताहरूको रणनीतिक बचाउ, र केहीको स्पष्ट पतन दखा परेको छ ।
गत भाद्र २३ र २४ को जेनजी विद्रोह, पहिलो महिला प्रधानमन्त्रीदेखि फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दलहरुलाई विस्तापित गर्दै अघिल्लो संसदमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को करिब दुई तिहाइ बहुमतसहितको उपस्थिति र स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाका मेयर बनेका बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएको राजनीतिक घटनाक्रम २०८२ को परिदृष्य बन्न पुग्यो ।
विद्रोहको लहर र नयाँ नेतृत्वको उदय
वर्ष २०८२ को सबैभन्दा उल्लेखनीय पक्ष भनेको ‘विद्रोही राजनीति’ हो । जनतामा लामो समयदेखि थुप्रिएको असन्तुष्टि २०८२ मा जेनजी विद्रोह हुँदै चुनावी मतपरिणामबाट स्पष्ट रूपमा अभिव्यक्त भयो । यही असन्तुष्टिको प्रतिनिधित्व गर्दै बालेन शाह जस्ता स्वतन्त्र नेतृत्व अझै मजबुत बने ।
काठमाडौं महानगरमा मेयर हुँदा उनले देखाएको कडाइ, सुशासन र प्रत्यक्ष जवाफदेहिीताले उनलाई राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली पात्र बनायो । उनी केवल एक मेयर होइनन्, ‘सिस्टमविरुद्धको आवाज’ को प्रतीकका रूपमा स्थापित भए ।
त्यसैगरी, भाद्र २३ र २४ गते जेनजी विद्रोहबाट चर्चामा आएका सुधन गुरुङ पनि स्थापित राजनीतिक सोचको विकल्प प्रस्तुत गर्ने नेताका रूपमा उदाए । तीक्ष्ण अभिव्यक्ति, स्पष्ट राजनीतिक दृष्टिकोण र युवापुस्तासँगको सहजै पहुँचले उनलाई नयाँ पुस्ताको प्रतिनिधि बनायो। यी दुवै पात्रको उदयले परम्परागत राजनीतिमाथि नै प्रश्न उठाएको छ ।
कुटिल रणनीतिमा टिकेका प्रचण्ड
वर्ष २०८२ को अर्को रोचक पाटो भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक टिकाउ हो । पटक–पटक सत्ता समीकरण बदल्ने, परिस्थितिअनुसार गठबन्धन बनाउने र जोखिमलाई अवसरमा बदल्ने उनको पुरानो शैली २०८२ मा पनि प्रभावकारी देखियो ।
जहाँ अन्य पुराना नेताहरू कमजोर देखिए, त्यहाँ प्रचण्ड भने सत्ता र प्रभावको केन्द्र नजिकै रहन सफल भए । आलोचना र विवादका बाबजुद पनि उनले आफूलाई पूर्ण रूपमा किनारामा पुग्न दिएनन् । यसले उनको राजनीतिक चातुर्य र अनुकूलन क्षमतालाई पुनः पुष्टि गरेको छ ।
किनारामा धकेलिए ओली–देउवा
दशकौँदेखि नेपाली राजनीतिमा प्रभाव जमाएका केपी शर्मा ओली र शेरबहादुर देउवा भने २०८२ मा स्पष्ट रूपमा दबाबमा देखिए । नेपाली राजनीतिको शक्ति र सत्तामा रमाइ रहेका यी दुई पूर्व प्रधानमन्त्री यस पटक भने शक्ति र सत्ताको कम्पाउण्ड बाहिर पुगे ।
आफूलाई सर्वोपरी र सर्वमान्य मान्ने एमाले अध्यक्ष ओली र समग्र नेकपा एमालेको लज्जास्पद हारले देशभरका जनताले दुवैको दम्भ र अहमतालाई तोडिदिएका छन् । पाँच पटक प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेका शेरबहादुर देउवा र चार पटकसम्म प्रधानमन्त्री भएका केपी शर्मा ओलीले आफ्नै साख समेत जोगाउन सकेनन् यस वर्ष ।
केही वर्ष अगाडी ‘केपी बा आइ लभ यु’ भन्ने पुस्ताको विद्रोहले प्रधानमन्त्रीकै पदमा रहँदा बालुवाटारबाटै एकाएक हेलिकप्टरबाट भाग्नु परेको तितो सत्य समेत ओलीका लागि यस वर्षको भोगाइ बन्न पुग्यो।
तत्कालीन समयमा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आफ्नै निवासमा सुरक्षित रहन सकेनन् । जेनजी विद्रोहमा उनीसँगै पत्नी आरजु राणा देउवासमेत आक्रमणको सिकार बन्न पुगिन् । पार्टीभित्रको असन्तोष, निर्णय प्रक्रियामा केन्द्रीकरण र नयाँ पुस्तालाई स्थान दिन नसक्ने प्रवृत्तिले कांग्रेसमा पुस्तान्तरणको आजाव उठ्यो र विशेष महाधिवेशनले देउवालाई सभापति पदबाट हटाइयो । फलस्वरुप निर्वाचनमा समेत देउवा दम्पत्ति देश बाहिरै रहे ।
ओलीकै हठका कारण भाद्र २३ र २४ को परिस्थिति आएको आमबुझाइ छ । भदौ २३ को जेनजी आन्दोलनको मुख्य ‘ट्रिगर प्वाइन्ट’ ‘सामाजिक सञ्जाल प्रतिबन्ध’को निर्णय थियो । दुवै नेताप्रति जनतामा नकारात्मक भावना देखिन थालेको छ—उनीहरूलाई अब नयाँ समाधानभन्दा पुरानो समस्याको हिस्सा भनेर हेर्ने प्रवृत्ति बढेको छ ।
जनमतको परिवर्तन र राजनीतिक सन्देश
२०८२ को राजनीतिक परिदृश्यले एउटा स्पष्ट सन्देश दिएको छ—जनता अब विकल्प खोजिरहेका छन् । उनीहरू केवल नाराभन्दा पनि काम, पारदर्शिता र जवाफदेहिताको माग गरिरहेका छन् । यही कारणले परम्परागत शक्ति संरचनाभन्दा बाहिरका पात्रहरू लोकप्रिय बन्दै गएका छन् ।
यो परिवर्तन केवल व्यक्तिको उदय वा पतन मात्र होइन; यो नेपालको राजनीतिक संस्कारमा देखिएको गहिरो रूपान्तरण हो । यदि पुराना दलहरूले आफूलाई समयअनुसार रूपान्तरण गर्न सकेनन् भने उनीहरूका पुराना दलहरु अब इतिहासमा मात्र सिमित नहोला भन्न सकिन्न ।
वर्ष २०८२ नेपाली राजनीतिमा संक्रमण, प्रतिस्पर्धा र पुनर्संरचनाको वर्षका रूपमा उभिएको छ। एकातिर बालेन–सुधनजस्ता विद्रोही अनुहारहरूको उदय, अर्कोतिर प्रचण्डको रणनीतिक टिकाउ, र अर्कोतिर ओली–देउवाको घट्दो प्रभाव—यी सबैले मिलेर नेपालको राजनीतिक भविष्य नयाँ मोडमा पुगेको छ । अबको समयले निर्धारण गर्नेछ—यो विद्रोह केवल लहर मात्र हो, वा यसले नेपालको सत्ता संरचनालाई स्थायी रूपमा पुनःपरिभाषित गर्नेछ ।
प्रतिक्रिया