विस्थापित हुँदै स्वदेशी कालिगढ

सुनचाँदी व्यवसायमा स्वदेशी कालिगढको अभाव, ठूलो धनराशी विदेशिँदै

विहीबार, ०७ जेठ २०८३, १४ : ०७

काठमाडौं-  नेपालमा सुनचाँदीका गरगहना बनाउने परम्परागत स्वदेशी कालिगढहरूको अभाव हुन थालेको छ । एक समय नेपाली बजारमा स्वदेशी कालिगढहरूले बनाएका गहनाको ठूलो माग हुने गर्थ्यो । तर अहिले विदेशी कालिगढहरूको बाहुल्यता बढ्दै गएको छ । विशेष गरी भारत तथा बंगलादेशका कालिगढहरूको दबदबा बढ्दै जाँदा नेपाली कालिगढहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । सरकारको नीति, कानुन तथा कर प्रणालीका कारण पनि स्वदेशी कालिगढहरू समस्यामा परेका हुन् ।

नेपालका कालिगढले आफूहरू उपेक्षित भएको गुनासो गर्ने गरेकाले पनि सुनचाँदी व्यवसायमा स्वदेशी कालिगढको कमजोर उपस्थिति देखा परेको नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण महासंघका तृतीय उपाध्यक्ष प्रेम खाती बताउँछन् । उचित पारिश्रमिक र सम्मान नहुँदा धेरै नेपाली कालिगढ वैदेशिक रोजगारीमा जान बाध्य भएको उनको भनाई छ ।

‘हामीले पुस्तौँदेखि यही काम गर्दै आएका हौँ । तर अहिले कामको मूल्य घटेको छ । नयाँ पुस्ता पनि यो पेसामा आउन चाहँदैन ।,’ नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण महासंघका तृतीय उपाध्यक्ष खातीले  आजको अर्थसँग भने, ‘महासंघले विभिन्न समयमा सुनचाँदी व्यवसायमा आबद्ध कालीगढहरूलाई प्रशिक्षण दिँदै आएको छ । स्वदेशी कालीगढहरूका लागी झन्झटिलो नीतिले गर्दा यो पेसाबाट पलायन हुनेको संख्या दिनहुँ बढ्दै गएको छ भने विदेशी कालीगढहरूले बजारमा कब्जा गर्न थालेका छन् ।’ 

उनले अगाडि थपे, ‘सिजनमा भारतमा कर धेरै हुँदा सुनको माग वैकल्पिक बाटोबाट पूरा गर्ने प्रयास बढ्ने सम्भावना हुन्छ । नेपालमा पनि बजार अस्थिर बन्न सक्छ । सरकारको ध्यान यसको नियन्त्रणमा जानुपर्छ ।’ विलासिता करलाई पनि भन्सार करमा समायोजन गरेर व्यवसाय तथा कालीगढ मैत्री नीति बनाउनु पर्नेमा खातीको जोड छ ।

नेपाली कला र डिजाइनलाई संरक्षण गर्न सरकार, व्यवसायी तथा सम्बन्धित निकायले संयुक्त पहल गर्नुपर्ने आवश्यकता उनले औँल्याए । स्वदेशी कालिगढलाई सीप विकास तालिम, आधुनिक प्रविधि र सहुलियतपूर्ण नीति उपलब्ध गराउन सके नेपाली गहनाको मौलिकता जोगाउन सकिने खातीको भनाइ छ । साथै, स्वदेशी श्रमिकलाई प्राथमिकता दिने नीति पनि आवश्यक रहेको उनले बताए ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष खेम तिरूवा पनि परम्परागत गहनाको बजार आधुनिक तथा नक्कली गहनाले विस्थापन गर्दा कालिगढहरूको अवस्था दयनीय बन्दै गएको बताउँछन् । 

अध्यक्ष तिरूवाले भने, ‘पहिले नेपाली कालिगढले बनाएका गहना बजारमा धेरै चल्थे । अहिले भने दक्ष नेपाली कालिगढ विदेश पलायन भएका छन्, बाँकीलाई पनि काम गर्न गाह्रो भइरहेको छ । नेपाली कालिगढलाई तालिम, प्रविधि र प्रोत्साहन नदिँदा विदेशी कालिगढले नेपाली सुनचाँदी बजार कब्जा गर्न थालेका छन् ।’

अहिले बजारमा लेपन गरिएका बुट्टा तथा नक्कली गहनाको माग बढ्दो छ । यसले गर्दा पनि स्वदेशी कालीगढहरूको ९० प्रतिशत काममा ह्रास आएको छ । उचित तालिमको व्यवस्था, आधुनिक प्रविधि नहुँदा विदेशी कालिगढमार्फत धेरै ठूलो धनराशी बाहिर गएको छ । कम ज्याला, सानो परिणामको बच्चा पदार्थ उपलब्ध नहुँदा साना व्यवसायी तथा कालीगढ विस्थापित हुने अवस्था सिर्जना भएको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष तिरूवाले बताए ।

उनले भने, ‘सरकारले व्यवसाय मैत्री नीति, कानुन तथा कर प्रणाली बनाउनुपर्छ । साना व्यवसायीलाई बजारमा टिकाइ राख्न सानो परिमाणको कच्चा पदार्थ सहज रूपमा राष्ट्र बैंक तथा अन्य बैंकहरूबाट उपलब्ध गराउनुपर्छ र विलासिता करलाई भन्सार दरमा नै समायोजन गर्दै कालीगढहरूको लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवस्था गरेमा स्वदेशी कालिगढले नै अवसर पाउँछन् ।’

त्यस्तै, नेपाली बजारमा अहिले भारतीय र बंगलादेशी कालिगढहरूको संख्या उल्लेख्य रूपमा बढेको बर्दिया सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार बताउँछन् । उनीहरूले कम ज्यालामा धेरै काम गर्ने भएकाले सुनचाँदी व्यवसायीहरू पनि विदेशी कालिगढप्रति आकर्षित भएको उनको भनाइ छ । यसले गर्दा स्वदेशी कालिगढहरू रोजगारी गुमाउने अवस्थामा पुगेको सुनारले बताए ।

‘व्यवसाय दिनप्रतिदिन कम हुँदै गएको छ । एकातिर सिजन छैन भने अर्कोतिर सुनचाँदीको भाउ धेरै महँगो छ, झन् त्यसैमा विलासिता करले गर्दा यो व्यवसाय नै जोखिममा छ ।’ उनले आजको अर्थसँग भने,‘सरकारले स्वदेशी कालिगढको संरक्षणका लागि कुनै विशेष नीति ल्याएको छैन । उल्टै कानुनी झन्झट र करका कारण व्यवसाय सञ्चालन गर्नै कठिन भएको छ । सुन आयात, राजस्व तथा विभिन्न प्रशासनिक प्रक्रियाले पनि साना व्यवसायीलाई बढी असर गरेको छ ।’ 

अध्यक्ष सुनारले थपे, ‘दिनहुँ स्वदेशी कालीगढहरू पलायन हुँदै गएका छन् । यो समस्या निवारण गर्न नगर, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिलाई आधुनिक प्रविधियुक्त मेसिन ल्याउन भन्सार छुट तथा अनुदानको व्यवस्था गर्दै स्वदेशी कालीगढहरूको लागि सरकारले प्रविधियुक्त तालिमको व्यवस्थापन गर्नुपर्छ ।’  

नेपालका सुनचाँदीका गहनामा नेपाली कला, संस्कृति र पहिचान जोडिएको हुन्छ । यदि स्वदेशी कालिगढहरू विस्थापित हुँदै गए भने नेपाली मौलिकता नै संकटमा पर्न सक्छ । त्यसैले सरकार र सरोकारवाला निकायले समयमै उचित कदम चालेर स्वदेशी कालिगढको संरक्षण गर्न आवश्यक छ ।

 
 
 
विहीबार, ०७ जेठ २०८३, १४ : ०७

प्रतिक्रिया