मदिराको सट्टा नियमित ‘एङजाइटीको औषधि खाँदै जेन जी, जोखिम केके

बुधबार, ०३ भदौ २०८३, ०९ : ३५

साथीहरूसँग बाहिर घुम्न जानुअघि २० वर्षीया मेईको घाँटीमा गाँठो परेजस्तो हुन्थ्यो, हातमा पसिना आउँथ्यो र आफूले केही गलत कुरा बोल्ने हो कि भनेर उनी निकै डराउँथिन्।

त्यसपछि चिनियाँ विश्वविद्यालयकी यी विद्यार्थीले सामाजिक सञ्जालमार्फत् चिकित्सकको सिफारिसमा प्रयोग हुने विभिन्न औषधिहरूबारे थाहा पाइन्।

उनले सुरुमा ‘प्रिग्याबलिन’ खान थालिन्, जुन सामान्यतया छारेरोग, ‘एङ्जाइटी’ (चिन्ता) र स्नायुको दुखाइको उपचारका लागि प्रयोग गरिन्छ। त्यससँगै उनले ‘बेटा ब्लकर’ पनि खान थालिन्, जुन सामान्यतया मुटुसम्बन्धी समस्याको उपचारमा प्रयोग गरिन्छ र यसले एङ्जाइटीका शारीरिक लक्षणहरू पनि कम गर्न सक्छ।

उनले यी दुवै औषधि अनलाइन विक्रेताहरूबाट गैरकानुनी रूपमा किनेकी थिइन्।

मलाई अत्यन्तै उत्साहित महसुस हुन्थ्यो, मानौँ म त्यो कोठाकै सबैभन्दा चाखलाग्दो व्यक्ति बन्न सक्छु, उनी भन्छिन्। दश गिलास मदिरा पिए पनि केही नभएजस्तो हुन्थ्यो।
यी औषधिहरू उच्च मात्रामा सेवन गर्दा मदिराले मात्तिएको जस्तै अनुभूति हुनसक्छ।

जोखिम
तर विशेषज्ञहरू चिकित्सकीय निगरानीबिना यी औषधि सेवन गर्नु खतरनाक हुन सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी दिन्छन्। लामो समयसम्म यी औषधि प्रयोग गर्दा यसप्रतिको निर्भरता पनि विकसित हुन सक्छ। अर्थात् प्रयोगकर्तालाई हरेक सामाजिक परिस्थितिमा औषधिमै भर पर्नुपर्ने अवस्था आउन सक्छ।

औषधि छोड्ने प्रयास गर्दा उनीहरूले बढी चिन्ता, अनिद्रा र आत्महत्यासम्बन्धी विचारसमेत अनुभव गर्ने गरेको बताउँछन्।

मेई (परिवर्तित नाम) का लागि सुरुमा साथीहरूसँग बाहिर जाने रातहरूमा मात्र प्रयोग हुने यी औषधिहरू पछि नियमित सामाजिक भेटघाटमा पनि प्रयोग हुन थाले। अहिले उनी यी औषधि दैनिक सेवन गर्छिन्।

‘म अब यो औषधि नखाई घरबाट बाहिर निस्किन सक्दिनँ,’ उनले भनिन्।

यसो गर्ने मेई एक्ली होइनन्। विश्वभरि केही युवाहरूले मदिराको विकल्पका रूपमा यस्ता औषधि तथा परीक्षणात्मक पदार्थहरूको प्रयोग गर्न थालेका छन्।

बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या बढ्दो

जेन जी अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसहरूमा अघिल्ला पुस्ताहरूको तुलनामा ‘एङ्जाइटी’ को समस्या बढी देखिएको छ। एउटा अध्ययनले सन् १९९० देखि सन् २०२१ सम्म १० देखि २४ वर्ष उमेर समूहमा विश्वव्यापी रूपमा ‘एङ्जाइटी’ हुनेहरूको सङ्ख्या १ करोडबाट बढेर १ करोड ६० लाख पुगेको पाइएको छ। यसै गरी, ६१ वटा अध्ययनको समीक्षाले पनि महामारीअघिको अवस्थाको तुलनामा युवाहरूमा ‘एङ्जाइटी’को दर बढेको देखाएको छ।

यसैबीच मदिरा पिउनुको स्वस्थ विकल्प खोज्ने प्रवृत्तिले सामाजिक सञ्जालमा मदिरा पिएपछिको ‘ह्याङओभर’ नहुने तथा सामाजिक रूपमा प्रयोग गरिने पदार्थ भनेर प्रचार गरिएका विभिन्न पदार्थहरूको नयाँ बजार सिर्जना गर्न मद्दत गरेको छ।

‘युवा मानिसहरूले यी औषधिहरूलाई अझ सफा र सुरक्षित विकल्पका रूपमा हेर्छन्,’ टीसाइड विश्वविद्यालयका लतसम्बन्धी अनुसन्धानकर्ता लायम नावलेस भन्छन्। ‘तर यो सुरक्षाको गलत अनुभूति हो ।’


कति युवाहरूले यी औषधिहरू सामाजिक हुन लिने गर्छन् भन्ने यकिन गर्न असम्भव छ किनभने धेरैले गैरकानुनी रूपमा त्यो लिने गर्छन्।

नेचर कम्युनिकेशन्सु नामक अध्ययनले प्रिग्याबलिनको जम्मा विश्वव्यापी खपत सन् २००८ र सन् २०१८ को बीचमा चार गुणाले बढेको अनुमान गरेको छ। प्रिग्याबलिनको दुरुपयोग र मृत्युबीच पनि एकदमै धेरै वृद्धि भएको छ।

जेन जीहरू बढ्दो रूपमा मदिराबाट टाढा रहन थालेका छन् । चीनमा प्रिग्याबलिनको दुरुपयोगसम्बन्धी पहिलो घटना सन् २०२४ मा देखा परेको थियो। यसै वर्ष चीन सरकारले यो औषधिमाथि थप कडा नियन्त्रण गर्ने योजना घोषणा गर्‍यो। त्यसपछि भारतले पनि यसलाई नियन्त्रण गर्दै यसै वर्षको मे महिनामा यसको प्रयोगमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्‍यो। जोर्डन र युक्रेनका अनुसन्धानकर्ताहरूले पनि यसको दुरुपयोग बढ्दै गएको बताएका छन्।

सामाजिक सञ्जालको ‘सहयोग’ ?
यी औषधिसँग सम्बन्धित ुह्याशट्यागुहरू खोज्दा सामाजिक सञ्जालका प्ल्याट्फर्फहरूमा हजारौँ भिडिओहरू भेटिन्छन्। ती भिडिओहरूमा प्रयोगकर्ताहरूलाई विभिन्न औषधिहरू आफैँ मिलाएर एउटा मिश्रण बनाउन प्रोत्साहित गरिन्छ। अनलाइन भाषामा यसलाई ‘स्ट्याकिङ’ भनिन्छ।

तर सामाजिक सञ्जालले केही युवाहरूलाई यी पदार्थबारे जानकारी गराउने मात्र होइन, उनीहरूलाई ती पदार्थ कसरी पाइन्छ भनेर पनि सहयोग गरिरहेको देखिन्छ।

मेईले आफूले पनि चिनियाँ सामाजिक सञ्जालबाट ती औषधिहरू किनेको बताइन्।

‘हजारौँ पोस्टमा बिक्री भइरहेका छन्,’ उनले भनिन्। ‘तिनीहरू खोज्न र अर्डर गर्न एकदमै सजिलो छ ।’

निर्भरताको खतरा
किङ्ग्स कलेज लन्डनकी मनोवैज्ञानिक प्राध्यापक एमिली जोन्सका अनुसार यी औषधि र मदिराले गर्ने शारीरिक हानिबीच तुलना गर्दा अझ महत्त्वपूर्ण प्रश्न छुट्न सक्छ ( मानिसहरूले रासायनिक पदार्थको सहारा नलिई सामाजिक रूपमा घुलमिल हुनै सक्दिनँ भन्ने विश्वास गर्न थाले भने के हुन्छ ?

‘धेरै मात्रामा मदिरा सेवन गर्नु खतरनाक हुन्छ। तर चिकित्सकको निगरानीबिना नियमित रूपमा औषधि सेवन गर्नु पनि खतरनाक हुन्छ,’ भन्छिन्।

‘यदि तपाईँले बाहिर घुम्न वा भोजमा जानुअघि यी औषधि लिएपछि मात्रै आफू सुरक्षित हुन्छु भनेर आफूलाई विश्वास गर्न सिकाउनुभयो भने त्यो विश्वास अन्य परिस्थितिहरूमा पनि फैलिन धेरै सजिलो हुन्छ,’ उनी भन्छिन्।

‘तपाईँले परिस्थितिहरूलाई प्रभावकारी रूपमा सामना गर्ने आफ्नै क्षमतामाथिको विश्वास गुमाउनुहुन्छ,’ उनी भन्छिन्।

लोराले पनि यस्तै अनुभव गरिन्।

औषधिको कालो बजार
धेरै देशहरूले यी औषधिमाथि कडाइ गर्न थालेसँगै केही मानिसहरू पहुँचमा थप प्रतिबन्ध लगाउँदा अर्कै प्रकारका जोखिमहरू सिर्जना हुन सक्ने तर्क गर्छन्।

युक्रेनको ‘माइन्ड गेम्स’ नामक असर कम गर्नेसम्बन्धी संस्थाका प्रमुख तथा एपिडीमिओलजिस्ट मुकिता लापिनका अनुसार कुनै पदार्थमाथि प्रतिबन्ध लगाउँदैमा मानिसहरूले त्यसको प्रयोग गर्न छोड्छन् भन्ने हुँदैन।

नावलेसका अनुसार गैरकानुनी रूपमा बेचिने प्रिग्याबलिनमा थप जोखिम हुन्छ किनभने प्रयोगकर्तालाई आफूले वास्तवमा के र कति मात्रामा खाइरहेको छु भन्ने थाहा नहुन सक्छ।

मेईजस्तै मनोरञ्जनका लागि यी औषधि प्रयोग गर्ने धेरै जना यी औषधि पूर्ण रूपमा कहिल्यै छोड्न नसक्ने हो कि भनेर चिन्तित छन्।

ूयो सोच्दा पनि डर लाग्छ, मलाई थाहा छैन म योबिना कसरी आफूलाई सम्हाल्छु।ू

यदि तपाईँ वा तपाईँको साथी वा तपाईँले चिनेको कोही व्यक्ति यो लेखमा उठाइएका विषयहरूबाट प्रभावित छन् भने स्थानीय चिकित्सकले तपाईँलाई सुझाव दिन सक्छन् वा कुनै सहायता गर्ने संस्थाबारे बताइदिन सक्छन्।

बीबीसी न्यूज नेपाली 

बुधबार, ०३ भदौ २०८३, ०९ : ३५

प्रतिक्रिया