न बढ्ने, न घट्ने– किन मौन छ शेयर बजार ?

आइतबार, ०७ भदौ २०८३, १४ : २१

अर्थतन्त्रका बाह्य सुचकहरु राम्रो रहँदा, आन्तरिक रुपमा तरलता योग्य रकम बैंकहरुमा प्रर्याप्त रहँदा र ब्याजदर निरन्तर घट्दा पनि लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन । वित्तिय बजारमा कर्जाको माग अत्यन्त न्युन छ । ब्यवसायी तथा शेयर लगानीकर्ता त्रस्त छन् । खासगरी नयाँ सरकारको अपरिपक्क शैली, शुसासनको नाममा नीजि क्षेत्रका उद्यमी ब्यवसायीहरुमाथीको अन्दाधुन्द धरपक्कडले ब्यवसायिक वातावरण खलल बनेको छ ।

विश्वमा कहिँ पनि त्यस्तो देश छैन, जहाँ हजारौंलाई रोजगारी दिने र करोडौं राजस्व तिर्ने व्यवसायीहरुमाथी राज्यनै लागेर कैदीझै ब्यवहार गरोस् । ब्यवसायीहरु भनेका कुनैपनि देशका गहना हुन् । जसले सम्बृद्धिको उज्यालो भित्राउन सक्छन् । त्यसकारण तिनीहरुबाट विगतमा गल्ती नै भएका रहेछन् भनेपनि उनीहरुलाई तर्साएर होइन्, धरपक्कड गर्ने होइन् । शोधपुछ गरेर, सम्मानपुर्वक आर्थिक जरिवानाको दण्ड गरिनुपर्छ, यदी कानुन वेगरको काम भएका रहेछन् भने । 

तर विना प्रमाण, विना आधार होहल्लाको भरमा उनीमाथी प्रहरी लगाएर समात्ने, मुद्धा मामिलामा अल्झिाइदिने काम गलत हो । त्यस्तो कामले न त राज्यमा उद्यमशील वातावरण बन्छ । न त रोजगारी सिर्जना हुन्छ । न त राज्यको राजस्व आय नै बढ्छ । त्यस्तो कामले पुरै देशको ब्यवसायिक वातावरण भत्कन्छ । अनि त बैंकहरुमा पैसा थुप्रिने र ऋणको माग नहुने भइहाल्छन् । यस्तो अवस्था लामो समय रहीरहँदा पुँजी पलायन हुनसक्छन् । नेपालमा नभएर ब्यवसायिहरुले विदेशमा लगानी गर्न सक्छन् । त्यसकारण ब्यवसायिक वातावरण भनेको आर्थिक सम्बृद्धिको महत्वपुर्ण आधार हो । व्यवसायिक वातावरण प्रगाढ भयो भने बैंकहरुमा ऋणको माग बढ्छ, नयाँ नयाँ उद्यमीहरु जन्मन सक्छन् । तिनले राज्यमा रोजगारी सिर्जना गर्छन् । आर्थिक गतिविधि बढ्छन् । निर्यात बढ्छ । र, देश धनी हुने बाटोमा अघि बढ्छ । अनि न शेयर बजारमा रौनक आउँछ । 

राजनीति र शेयर बजार 

शेयर बजारमा राजनीतिले जहिल्यै प्रभाव पार्छ । खासगरी राजनीतिक दलहरु विभिन्न विचारधारा बोकेर अस्तित्वमा छन् । कोही उदार अर्थतन्त्रको पक्षमा छन् त कोही नियन्त्रित अर्थतन्त्रको पक्षमा । कतिपय दलहरु पछिल्लो समय उदार र नियन्त्रित दुवै खालका नीतिको बीचबाट पनि अघि बढिरहेका छन् । त्यसकारण कुन राजनीतिक दल सरकारमा आसिन छ, उसले कस्तो आर्थिक नीति लिन्छ, निजी क्षेत्र र पूँजी बजारलाई कसरी हेर्छ भन्ने कुराले शेयर बजारमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पार्दछ ।

राजनीतिका कारण आर्थिक र व्यवसायिक वातावरणलाई प्रभाव पार्ने समाचारहरु शेयर बजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । सरकार परिवर्तन हुने संकेत, अर्थमन्त्रीको नियुक्ति, बजेट वा करका दर हेरफेर, नियामकीय नीतिमा परिवर्तन, सार्वजनिक खर्च, निजी क्षेत्रप्रतिको सरकारको दृष्टिकोण वा राजनीतिक स्थायित्वसँग जोडिएका समाचारहरुले लगानीकर्ताको मनोविज्ञानलाई तत्काल प्रभावित गर्छन् । जसले बजारलाई बढाउने तथा घटाउन भुमिका खेल्छ । त्यसकारण शेयर बजार अलिकति अनिश्चितताको बजार पनि हो । 

राजनीतिले बजारलाई हल्लाउन सक्छ, तर बजारलाई दीर्घकालमा टिकाउने भनेको चाँही अर्थतन्त्र र कम्पनीहरुको वास्तविक आर्थिक अवस्थाले नै हो ।
यही कुरा नेपालको शेयर बजारको इतिहासले पनि देखाउँछ । नेपालको शेयर बजारमा विगत दुई दशकमा पटक–पटक ठूला बुल र बियर साइकल आएका छन् । सन् २००८ मा नेप्सेले करिब १२०० को तह छोएको थियो । त्यसपछि लामो समय बजार घट्यो र २०१२ तिर ३०० को आसपाससम्म झ¥यो । त्यसपछि फेरि बजारले लामो उकालो यात्रा तय गर्दै सन् २०१६ मा १८०० विन्दु भन्दा माथिको उच्च तह परीक्षण ग¥यो । त्यसपछि पुनः करेक्सन आयो र २०१९ मा नेप्से परिसुचक करिब ११०० को विन्दु आसपास झ¥यो ।

त्यसपछि भने बजारले अर्को ठूलो यात्रा तय ग¥यो । सन् २०१९ को अन्त्यतिर करिब ११ सयको आसपास रहेको नेप्से कोरोनाकालमा बैंकिङ प्रणालीमा आएको अधिक तरलता, घटेको ब्याजदर, घरमै बसेर लगानी गर्नुपर्ने वाध्यता, डिजिटल कारोबारको विस्तार तथा लगानीकर्ताको बढ्दो सहभागिताका कारण सन् २०२१ मा ३२०० भन्दा माथिको ऐतिहासिक उचाइसम्म नेस्से पुग्यो ।

यसरी हेर्दा नेपालको शेयर बजारमा बजारको चक्र नयाँ कुरा होइन । एउटा चरणमा अत्यधिक उत्साह आउँछ, त्यसपछि करेक्सन हुन्छ, बजार केही समय सुस्त रहन्छ र फेरि नयाँ आधारमा अर्को यात्रा तय हुन्छ ।त्यसकारण अहिले २६ सयको आसपासमा चक्कर लगाइरहेको शेयर बजारलाई त्यही ऐतिहासिक चक्रको एउटा चरणका रूपमा हेर्न सकिन्छ । त्यसमाथी अहिले नै नेपालमा डिम्याट खाता खोल्नेहरु ८० लाख पुगेका छन् । शेयर बजारको लागि त्योपनि एउटा सकारात्मक कुरा हो । 

त्यसले बजार प्रति मानिसहरुको आर्कषण बढीरहेको प्रमाणित गर्छ । शेयर लगानीकर्ता मात्र होइन् पछिल्ला बर्षहरुमा नेप्सेमा सुचीकृति संस्थाहरु (हाल २८४ वटा संस्था नेप्सेमा सुचीकृत) पनि बढीरहेका छन् र झण्डै ७०–८० वटा ब्यवसायिक संस्थाहरु आइपिओ निष्कासनको प्रकृयामा पनि छन् । तिनीहरुको आइपिओ निष्काशनले झन् ब्यापक शेयर बजार प्रति सर्वसाधारणको आर्कण बढाउने छ । किनकी १० किते गोलाप्रथा चिठ्ठा नीतिले सर्वसाधारणलाई बजार प्रति आर्कषण बढाएको छ । 

राजनीति र बजारको सम्बन्ध 

राजनीतिका कारण बजारमा आउने उतारचढावलाई हामीले विगतमा धेरैपटक देखेका छौं । कुनै राजनीतिक घटनाले दुई दिनमै बजार ठूलो अंकले घट्न सक्छ । कुनै सकारात्मक राजनीतिक संकेतले केही दिनमै बजारलाई उकालो लगाउन सक्छ । तर त्यस्तो प्रभावको आयु प्रायः छोटो हुन्छ ।
जस्तो कि कुनै सरकार शेयर बजारमैत्री देखिएपछि बजारमा उत्साह आउन सक्छ । तर केही समयपछि कम्पनीको नाफा बढेन, बैंकको कर्जा विस्तार भएन, ब्याजदर बढ्यो र अर्थतन्त्र सुस्त भयो भने राजनीतिक उत्साहले मात्रै बजारलाई लामो समय माथि लैजान सक्दैन ।

यसको उल्टो पनि सत्य हो । राजनीतिक वातावरणमा केही नकारात्मकता भएपनि कम्पनीको व्यवसाय राम्रो भइरहेको छ, बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ, ब्याजदर घटिरहेको छ र अर्थतन्त्र विस्तार भइरहेको छ भने बजारले अन्ततः त्यसलाई मूल्यमा समेट्छ ।यसरी हेर्दा राजनीतिक घटनाक्रमले शेयर बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । तर दीर्घकालमा आर्थिक तत्व, व्यवसायिक वातावरण, आर्थिक नीति र कम्पनीको वित्तीय अवस्था नै महत्वपूर्ण हुन्छ ।

के बजार अब लम्कन्छ ?

शेयर बजारको भविष्यबारे ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन । नेप्से भोलि कति अंक बढ्छ वा घट्छ भन्ने कुरा कसैले निश्चित रूपमा भन्न सक्दैन । तर इतिहास, वर्तमान आर्थिक परिसूचक र नीतिगत वातावरणलाई एकै ठाउँमा राखेर हेर्दा अहिलेको बजारमा निराश हुने कारण देखिँदैन ।
सन् २००८ पछि बजारले ३०० को तह देख्यो । त्यही बजार केही वर्षपछि १८०० माथिको विन्दुमा पुग्यो । सन् २०१९ मा ११०० को आसपास आएको बजारले दुई वर्ष नपुग्दै ३२०० माथिको ऐतिहासिक उचाइ बनायो ।

यसले एउटा कुरा प्रष्ट गर्दछ भने आजको नेप्सेको अंकलाई हेरेर भोलिको बजारको सम्पूर्ण कथा लेख्न सकिँदैन ।अहिले २६ सय भन्दा केही माथी रहेको बजार भोलि यही अंकमा रहला वा तलमाथि होला, त्यो बजारको स्वभाव हो । तर यदि ब्याजदर अनुकूल रहीरह्यो, कर्जा विस्तार भयो, सरकारको पूँजीगत खर्च बढ्यो, निजी क्षेत्रको लगानी बढ्यो र कम्पनीहरुको आम्दानी सुधार भयो भने त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्न सक्छ ।

त्यसकारण अहिलेको सुस्ततालाई पनि बजार बढने तयारीका रूपमा हेर्न भने सकिन्छ । शेयर बजार सधैं उत्साहको चरम बिन्दुबाट मात्र उकालो लाग्दैन । धेरैपटक बजारले निराशा र अन्यौेलको समयमा नयाँ आधार बनाउँछ । अहिलेको २६ सय आसपासका घनचक्कर लगाइरहेको शेयर बजार पनि त्यस्तै एउटा चरणमा हुनसक्छ ।

आइतबार, ०७ भदौ २०८३, १४ : २१

प्रतिक्रिया