काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटमा भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ।
महासंघ अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिसहित देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाटलगायत क्षेत्रको निरीक्षण गरी बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा स्थानीयको अवस्थाबारे जानकारी लिएको हो।
स्थलगत निरीक्षणका क्रममा ढुङ्गेस्थित बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न सके नुवाकोटसहित छिमेकी जिल्लाका ५० हजारभन्दा बढी स्थानीय लाभान्वित हुने देखिएको महासंघले जनाएको छ।
महासंघले उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राख्दै पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने जनाएको छ। मन्त्रालयका प्राविधिक विज्ञहरूसँग आवश्यक परामर्श गरी पुल निर्माणको प्रक्रिया अगाडि बढाइने महासंघ अध्यक्ष पाण्डेले जानकारी दिए।
उक्त पुल निर्माण भएपछि नुवाकोट जिल्ला अस्पतालसँगै किस्पाङ र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका–७, ८, ९ र ३ का केही भूभागसँग बाढीका कारण विच्छेद भएको यातायात तथा आवागमन सम्पर्क पुनःस्थापित हुने स्थानीयको भनाइ छ। पुल निर्माणबाट हजारौँ स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
महासंघको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, नेपाली सेनाका जिल्लास्थित उच्च पदस्थ अधिकारी तथा सडक डिभिजन कार्यालयका प्रमुखले नुवाकोटमा बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था र पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा जानकारी गराएका थिए।
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा स्थानीयको आवागमन सहज बनाउन निर्माण व्यवसायी महासंघले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
अध्यक्ष पाण्डेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्यसमिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का सहभागी थिए।
प्रतिक्रिया