नेपाली मूलकी उद्यमी अरुणा अधिकारीको अमेरिकामा KairosHelix स्थापना

आइतबार, २१ भदौ २०८३, १३ : २८

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी KairosHelix स्थापना गरेकी छन्। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), गणित, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीको प्रयोगमार्फत क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई व्यवस्थित, एकीकृत र पुनःप्रयोग गर्न सकिने बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ।

क्लिनिकल ट्रायलका क्रममा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयलगायत ठूलो मात्रामा जानकारी सिर्जना हुन्छ। तर, यस्तो महत्वपूर्ण ज्ञान विभिन्न प्रणाली र संरचनामा छरिएर रहने भएकाले विगतका ट्रायलबाट सिकेको ज्ञानलाई आगामी अनुसन्धानमा प्रभावकारी रूपमा प्रयोग गर्न चुनौती हुने गरेको छ।

यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले KairosHelixले क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई एकीकृत गरी अनुसन्धानमा प्रयोगयोग्य ‘क्लिनिकल ट्रायल इन्टेलिजेन्स’मा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार यसको प्रविधिले मूल प्रमाणको संरक्षण र मानव निगरानीलाई विशेष प्राथमिकता दिन्छ। विशेषगरी नियमनको दायरामा रहेका तथा उच्च जोखिमयुक्त क्लिनिकल अनुसन्धानसँग सम्बन्धित निर्णयमा मानव निगरानीलाई केन्द्रमा राखिएको छ।

KairosHelixले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ। कम्पनीले क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्मसमेत विकास गरिसकेको जनाएको छ। साथै, Contract Research Organizations (CROs) तथा जैव प्रविधि कम्पनीहरूसँग व्यावसायिक सहकार्य सुरु गरिसकेको छ।

कम्पनीले क्लिनिकल ट्रायल योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डाटा तथा नियमनयुक्त एआईलगायतका क्षेत्रमा ११ वटा provisional patent applications समेत दर्ता गरिसकेको छ।

अधिकारीको बहुआयामिक अनुभवले KairosHelixको अवधारणालाई आकार दिएको हो। १६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी उनले गणित र प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धानका विभिन्न क्षेत्रमा काम गरेकी छन्।

क्लिनिकल अनुसन्धानमा काम गर्ने क्रममा अधिकारीले एउटा महत्वपूर्ण समस्या पहिचान गरेकी थिइन्। उनका अनुसार क्लिनिकल ट्रायलले ‘के भयो’ भन्ने विषयलाई व्यवस्थित रूपमा अभिलेख गरे पनि महत्वपूर्ण निर्णयहरू ‘किन गरिए’, त्यसको पछाडिको तर्क के थियो र निर्णय प्रक्रियाबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा कसरी पुनःप्रयोग गर्ने भन्ने कुरा सधैं व्यवस्थित रूपमा अभिलेखित नहुन सक्छ।

यही अन्तरलाई KairosHelixले सम्बोधन गर्न खोजेको हो। कम्पनीले विभिन्न अध्ययन तथा क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई सुरक्षित राख्ने, आपसमा जोड्ने र विगतका अनुसन्धानबाट सिकेर भविष्यका अध्ययनमा प्रयोग गर्न सकिने प्रणाली विकास गरिरहेको छ।

अधिकारीको प्रविधि क्षेत्रमा योगदानलाई सन् २०२४ मा PharmaVOICE 100 मा समेत सम्मान गरिएको थियो। उक्त सम्मानले प्रविधि र जीवन विज्ञानबीचको अन्तरसम्बन्धमा उनले पुर्‍याएको योगदानलाई थप उजागर गरेको कम्पनीले जनाएको छ।

नेपालबाट अमेरिकासम्मको आफ्नो यात्राबाट प्रेरित KairosHelixले क्लिनिकल अनुसन्धानलाई थप ज्ञानमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। विगतका क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा प्रयोग गर्न सकिने बौद्धिक सूचनामा रूपान्तरण गर्दै जीवन विज्ञान अनुसन्धानको आगामी पुस्ताका लागि नयाँ प्रविधिगत आधार तयार गर्ने कम्पनीको उद्देश्य छ।

आइतबार, २१ भदौ २०८३, १३ : २८

प्रतिक्रिया