ट्वीटर भित्र जासुसी भएको खुलासा, दुई कर्मचारी बिरुद्ध मुद्दा

विहीबार, २१ कार्तिक २०७६, १३ : ३७

ट्वीटरका दुई कर्मचारीहरुमाथि साउदी अरबको लागि जासुसी गरेको आरोप लागेको छ । 

बुधबार सान फ्रान्सिस्कोमा सार्वजनिक भएको मुद्दाका अनुसार ती कर्मचारीहरुले साउदी एजेन्टले चाहेको केही ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत जानकारी दिएका थिए । 

त्यसरी खोजिएका धेरैजसो ट्वीटर एकाउन्टहरु साउदी सरकारका मुखर आलोचकहरु थिए । अदालती कागजातले आरोप लागेका दुई कर्मचारीहरुको नाम पनि सार्वजनिक गरेको छ । 

तिनको नाम अहमद अबुआम्मो र अली अल्जाबराह रहेको अदालतले जनाएको छ । अहदम अमेरिकी नागरिक हुन् भने अली साउदी अरबियाका हुन् । 

तेस्रो व्यक्ति साउदी नागरिक अहमेद अल्मुटेरीमाथि पनि जासुसीको आरोप लागेको छ । अल्मुटेरीले आरोपित ट्वीटर कर्मचारी र साउदी अधिकारीबीचमा मध्यस्थकर्ता गरेको मुद्दामा उल्लेख छ । 

अबुआम्मोलाई बुधबार सियाटल अदालत अघि प्रस्तुत गरिएको थियो । शुक्रबार अर्को सुनुवाई बाँकी रहेकाले उनलाई हिरासतमै राखिएको छ ।

उनलाई जाली कागजात र एफबीआईलाई झुटो वयान दिएको आरोप पनि लगाइएको छ । अहिले अबुआम्मोले ट्वीटरको मिडिया साझेदारी म्यानेजरको काम छाडिसकेको बताइएको छ । अलि अल्जबराह र अहमद अल्मुटेरी दुवै साउदी अरबमै रहेको विश्वास गरिएको छ । 

ट्वीटरका पूर्व इन्जीनियर अल्जाबराहले ६ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत सूचना हेरेको छ । अल्जाबराह सन् २०१५ मा साउदी एजेन्टको रुपमा भर्ति भएको अनुसन्धानले देखाएको छ । 

तर अल्जाबराहको कार्यबारे ट्वीटरका उच्चाधिकारीले पहिले सुइको पाएपछि उनीसँग सोधखोज गरिएको थियो । त्यस लगतै उनले प्रशासनिक बिदा लिएर आफ्नी श्रीमती र छोरीका साथ साउदी अरब लागेका थिए ।

विहीबार, २१ कार्तिक २०७६, १३ : ३७

प्रतिक्रिया