सुरक्षाबल र प्रदर्शनकारीबीच झडप, आठ जनाको मृत्यु

आइतबार, ०१ मंसिर २०७६, १३ : ३२

 दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

यस  प्रदर्शनको क्रममा आठ जना मारिनुको साथै अन्य १ सय ३२ जना घाइते भएका सरकारी स्रोतले पुष्टि गरेको छ । घाइतेहरुमध्ये अधिकांशलाई गोली लागेको बताइएको छ । 

प्रदर्शनकारीहरु राष्ट्रपति इभो मोरालेसका समर्थकहरु रहेका जनाइएकोे छ । उहाँले भने राजीनामा गरिसकेका छन् ।  

बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो  मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भइरहेको थियो । 

विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए।

सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका थिए । त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । 
विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए । 

बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । 

लामो समयदेखि सत्तामा रहनुभएका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजिनामा दिएपछि उन थप सङ्कटमा पर्नु भएको थियो ।

त्यही चुनावमा पराजित हुनुभएका पूर्व राष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । 

उहाँले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिबाट राजिनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका थिए । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताउनु भएको छ, तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गर्नुभयो । 
मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताउनुभएको छ । प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको जनाएको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कृषक हुनुहुन्थ्यो । उहाँ सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बन्नुभएको थियो । 

राजीनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गर्नुभएको थियो । 

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गर्नुभएको थियो । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उहाँ झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी हुनुभएको थियो, जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।
विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गर्नुभएको थियो, तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजिनामा गर्न सुझाएका थिए ।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताएका छन् । 
 

आइतबार, ०१ मंसिर २०७६, १३ : ३२

प्रतिक्रिया