एउटै गाउँमा २५ ठूला गाइफर्म, बाख्रा, बङ्गुर र भैँसी पाल्नेकाे पनि लहर

४ बर्ष अगाडि

पाल्पाको तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पशुपालनको निम्ति तिनाउ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले यसको विकासमा ध्यान दिएको बताए ।

गाउँपालिकामा डेढ करोडको लागतमा पशु सेवा कार्यालय निर्माणको काम थालिएको छ । गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यसाथ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर इनोभेशन ललितपुरको रु एक करोड ५० लाख आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको हो ।   

गाउँपालिकाका अध्यक्ष घर्तीले पालिकामा अहिले २५ भन्दा धेरै गाई फार्म रहेका जानकारी दिए । उनले गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका विश्वनाथ भट्टराईले तिनाउ गाउँपालिका पशुपालन तथा पशु विकासका निम्ति उपयुक्त भएकाले गाउँपालिकामा नै जिल्लाको एकमात्र पशु सेवा भवन निर्माण शुरु गर्न सिफारिस भएको जानकारी दिए ।

गाउँपालिकामा हेफर इन्टरनेशनल नेपाल संस्थासँग साझेदारीमा बाख्रापालनको कार्यक्रम सञ्चालन गर्न दुई करोडको  सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ । तिनाउ गाउँपालिका–६ को डुम्रेमा बढी मात्रामा गाई फार्म सञ्चालनमा छन् । त्यो सँगै पालिकाको, कचल, सत्यवती, दोभान कोलडाँडालगायत क्षेत्रमा बाख्रा, बङ्गुर, गाई, भैँसीलगायत पशुपालन गर्ने कृषक बढी छन् ।

तिनाउ गाउँपालिका–२ का वडाध्यक्ष राजेश श्रेष्ठका अनुसार कृषकलाई पशुपालनमा उत्साहित बनाउँदै एक लिटर बराबर दूधमा दुई रुपैयाँ, दूध प्रशोधनका लागि रु नौ लाखको मेशिन सहयोग, घाँस काट्ने मेशिन खरिद, गोठ भकारो सुधार, घाँसको बीउ वितरण, कृत्रिम गर्भाधारण सहयोग र पशु औषधि उपचारका लागि सहयोग गरेको जानकारी दिए ।

डुम्रेका गाई फार्म सञ्चालक गोपाल जिसीले आफ्नो फार्ममा २५ वटा दुहुना भएको जानकारी दिँदै पशुपालनको क्षेत्रमा गाउँपालिकाले सहयोग गरेकामा खुशी व्यक्त गरे । 

त्यस क्षेत्रमा उत्पादन हुने दूध प्रायः कास्कीको पोखरा तथा स्थानीयस्तरमा बिक्री हुन्छ । गाउँपालिकाले पशुपालनको क्षेत्रमा गरेको सहयोग तथा पशु पकेट क्षेत्रका रुपमा विकास गर्ने भएपछि कृषक खुशी भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया