दुई वर्षे अवधिमा राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षका बीच सहमति र सहकार्यका आधारमा अघि बढेकाले आगामी दिनमा अझ सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । आजैदेखि सभाबाट बिदाइ हुन लागेका एकतिहाइ सांसदको बिदाइमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले प्रबुद्ध सभाका रुपमा अझै दरिलो सहकार्य गरिनुपर्नेमा जोड दिए।
राष्ट्रियसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले संसद् सफल बनाउन प्रमुख प्रतिपक्षीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सहयोगी संस्कृति निर्माण हुन सकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि आफ्नै देशको अस्पताल र चिकित्सक छनोट गर्नु उच्च मनोबलको उदाहरण भएको उनले बताए । देशमा दक्ष जनशक्ति भएकाले उपचार देशमै हुनसक्छ भन्ने सन्देश प्रवाह भएको छ ।
कोरोना भाइरसबाट पीडित भई निधन भएका विभिन्न देशका मानिसप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै नेता शर्माले कोरोनाका विरुद्ध चेतना अभिवृद्धिमा सांसद र संसद् लाग्नुपर्नेमा जोड दिए । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभालाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताए । दुई वर्षे अवधिमा केही अपवादबाहेक सहमति र सहकार्यमै काम गरिएको उनको समीक्षा थियो ।
“विवादास्पद विधेयकलाई पनि सामूहिक छलफल र प्रयासबाट परिमार्जन गर्न सफल भइयो, मिडिया काउन्सिल र राहदानी विधेयकलाई सबैले अपनत्व गर्न सक्ने गरी अघि बढाउन सफल भयौँ, यसो हुनुमा सभाको नेतृत्वको सहयोगी भूमिका रह्यो”, उनले भने ।
दूरदराजमा स्वास्थ्य, शिक्षालगायत समस्याबाट छटपटाइरहेका मानिस रहेकाले दलीय स्वार्थभन्दा माथि उठेर सांसद र सभाले सोच्नुपर्नेमा सांसद पाण्डेले जोड दिए । चुनावमा जुन आशा लिएर जनताले मतदान गरेका थिए त्यो पूरा हुन नसकेकामा निराशामा बदलिएकोतर्फ सत्तापक्षको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
निराशा कायम रहे लोकतन्त्र र स्वतन्त्रताका लागि फेरि अर्को पुस्ताले पनि लड्नुपर्ने दिन आउने भएकाले सार्वभौम संसद् बेलैमा सचेत हुनुपर्नेतर्फ सांसद पाण्डेले ध्यानाकर्षण गराए। एक व्यक्तिको इच्छापूर्तिका लागि संविधान संशोधन गर्नुुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता वृशेषचन्द्र लालले लोकतान्त्रिक संस्कृतिको पालना गर्दै आगामी दिनमा पनि सभा अघि बढ्ने विश्वास व्यक्त गरे । दुई वर्षसम्म सभामा सत्ता र प्रतिपक्षको अनुभूति नभएको उनको अनुभव थियो । सदनको विधायिकी, देश र जनता एवं निर्वाचन क्षेत्रगत भूमिका पनि रहेको सांसद लालले बताए । परिपक्वको सभा राष्ट्रियसभा भएकाले त्यसअनुसार अझ बढी भूमिका निर्वाह गरिनुपर्ने उनको भनाइ थियो ।
“संविधान देशको मूल कानून भएकाले सबै शक्तिको सहमतिमा संशोधन हुनुपर्छ, महत्वाकांक्षा पूरा गर्ने हतियारका रुपमा उपयोग गरियो भने नमान्नेकै संख्या बढ्न थाल्छ”, सांसद लालले भने । समाजवादी पार्टीकी नेता प्रमिलाकुमारीले केही विधेयक नियम निलम्बन गरेर पारित गरिएको बताउनुहुँदै नेपाल ट्रष्टको जग्गा विवाद यस्तै कारणले आएको बताए । आगामी दिनमा अझै सहमतिका आधारमा सभा सञ्चालन गरिनुपर्ने उनको सुझाव थियो ।
प्रतिक्रिया