साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको जनाएको छ ।
कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।
बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा ध्यानाकर्षण भएको कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठले बताइन् । उनका अनुसार कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात छ ।
‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ,’ उनले भनिन्, ‘अहिले नुनको कुनै अभाव छैन ।’
नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रतिक्रिया