स्मार्ट लाइसेन्स’ वितरण गरिँदै

४ बर्ष अगाडि

लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण शुरु गरिएको छ । 

कागजी लाइसेन्स हटाएर देशव्यापीरुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । 

यातायात व्यवस्था विभागमै कार्ड छपाइ शुरु भएसँगै सेवाग्राहीले धमाधम स्मार्ट लाइसेन्स पाइरहेका छन् । 

यातायात व्यवस्था कार्यालय धनगढीले मात्रै हालसम्म २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ । 

यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाइसेन्सको स्मार्ट कार्ड वितरण गर्न शुरु गरेको थियो ।

 कागजी लाइसेन्स हटाएर नयाँ व्यस्था शुरु भएसँगै स्मार्ट कार्डको लागि लाखौँ सेवाग्राहीले आवेदन दिएका थिए । यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै एक लाखको हाराहारीमा आवेदन परेका जनाइएको छ । 

लाइसेन्सको माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले आवेदन दिएको दुई वर्षसम्म स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । 

स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ हुँदा आजित बनेका सेवाग्राही पनि अहिले भने यातायात व्यवस्था कार्यालय धाउन थालेका छन् । 

स्मार्ट लाइसेन्स वितरण भइरहेको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट पनि यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन् । 

अब स्मार्ट लाइसेन्स हातमा परेपछि ट्राफिक झन्झट र दुर्घटनाको जोखिमबाट राहत पाइने सेवाग्राही प्रेम बोहराले बताए । 

यातायात व्यवस्था कार्यालयमा मात्रै हाल विभागले ३५ हजार स्मार्ट लाइसेन्स वितरणका लागि पठाएको छ । जसमध्ये हालसम्म २५ हजार बढी वितरण भइसकेका छन् । 

बाँकी आवेदनका आधारमा लाइसेन्स छपाइको काम भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

 विभागले आफैँ कार्ड छाप्न शुरु गरिसकेपछि हाल स्मार्ट लाइसेन्स वितरणले गति लिएको यातायात व्यवस्था कार्यालयका प्रमुख लक्ष्मण शाहले जानकारी दिए। 

आधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर, नक्कली छाप्न नमिल्ने, आगोले नजल्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र इ–गभर्ननेन्स लागू गर्न स्मार्ट लाइसेन्स सहयोगी हुने अपेक्षा गरिएको छ । 

विगतमा वितरणमा ढिलाइ देखिए पनि अब भने यातायात व्यवस्था विभागले आफैँ छपाइ शुरु गरेसँगै वितरणमा केही सहजता देखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया