सुनकोशीमा सामुदायिक घरवास सञ्चालन हुँदै

मंगलबार, २७ फागुन २०७६, १३ : १८

घरवास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरवास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरवास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि कालिकामा खुशियाली छाएको छ । एक कार्यक्रमबीच प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति सुरेश नेपालले कालिकास्थित उखुबारी सामुदायिक घरवासका लागि भवन शिलान्यास गरेका छन् । सुनकोशी किनारको सुकुटे क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका बेला कालिकामा घरवास सञ्चालनको तयारी गरिएको हो । 

पर्यटन विकासकै आधारबाट समृद्ध कालिका निर्माणका लागि घरवासको अवधारणा अघि सारिएको स्थानीय अगुवा एवम् उखुबारी सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले बताए । घरवासका लागि सामुदायिक भवन शिलान्यास गर्दै नेपालले पर्यटनलाई जनताका जीवनसँग जोड्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए । “माझी संस्कृति र मगर संस्कृति उखुबारी घरवासका लागि महत्वपूर्ण छ, पर्यटकलाई सत्कार गर्दै यहाँको संस्कार देखाउन पर्छ”, उनले भने ।  

स्थानीय उत्पादनमा जोड दिँदै प्रकृति तथा पर्यावरण संरक्षण गर्दै उखुबारी सामुदायिक घरवास सञ्चालन गरिने पर्यटन व्यवसायी पुष्पराज पराजुलीले बर्ताए । व्यस्थित र नमूना घरवासका लागि वडा तहबाट आवश्यक नीति योजनाका साथ अघि बढ्ने वडाध्यक्ष रामहरि खड्काले बताए। वाग्मती प्रदेश सरकारले यस वर्ष उखुबारी सामुदायिक घरवासका लागि भवन निर्माणको शीर्षकमा रु १५ लाख रकम विनियोजन गरेको थियो । सामुदायिक घरवासका लागि दिव्यदृष्टि कन्सल्टेन्सी प्रालिले गुरुयोजना तयार गरिरहेको छ ।

मंगलबार, २७ फागुन २०७६, १३ : १८

प्रतिक्रिया