प्रदेश प्रमुख अधिकारीद्वारा बाबा बर्दगोरियाधामको अवलोकन

बुधबार, २८ फागुन २०७६, १२ : ३५

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पश्चिम नवलपरासीको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाबा बर्दगोरियाधामको अवलोकन गरेका छन ।
 
प्रदेश प्रमुख अधिकारीले आज सुनवल नगरपालिका–११ मा अवस्थित धामको अवलोकन भ्रमण गर्दै धामको महत्व र यहाँ भइरहेका विकासका कामका बारेमा जानकारी लिएको धाम विकास समितिका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिए । आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काखमा अवस्थित बाबा बर्दगोरियाधाम पछिल्लो समय पर्यटकको रोजाइँमा पर्ने गरेको छ । यहाँको मनोरम वातावरणमा रमाउन र वनभोजका लागि पनि दैनिकरूपमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । 

शिवभक्त नन्दीकेश्वरको तपोभूमिका रूपमा परिचित यो धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश नं ५ सरकार र सुनवल नगरपालिकाको लगानीमा अहिले विभिन्न पर्यटकीय पूर्वाधार निर्माण भइरहेका धामका अध्यक्ष तिवारीले बताए ।
 
यहाँ पूजाअर्चनाका लागि बाह्रै महिना भक्तजनको आगमन हुने गरेको छ भने नेपाली नारीको महान्पर्व हरितालिका तीजका दिन यहाँ पश्चिम नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ । बाला चतुर्दशी, शिवरात्रि तथा साउन महिनामा पनि भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । मन्दिरको अगाडिपट्टि रहेको ऐतिहासिक अमर पोखरीलाई पनि सौन्दर्यकरण गरिएको छ । यो ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन लामो समयदेखि प्रयास हुँदै आएको छ ।

लुम्बिनी, देवदह, रामग्राम, त्रिवेणीधाम हुँदै बर्दगोरियाधामलाई पनि बुद्ध सर्किटमै जोडी धार्मिक तथा पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्देश्यले धाम विकास समिति र नगरपालिकाले पहल गर्दै आएको नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए। यस धाम क्षेत्रमा पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले यसै धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने तयारी गरेका  छन ।
 

बुधबार, २८ फागुन २०७६, १२ : ३५

प्रतिक्रिया