कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो ।
एक नं प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मङ्सिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए । निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौताअनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ ।
चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ । रु एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ ।
भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ । दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ । लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ । विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो । यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । डाइग्नोस्टिक्सको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबारविहीन २९ वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
स्वास्थ्यकर्मीसहितको टोली आश्रममै पुगेर निःशुल्क रगत, मधुमेह, मिर्गौला, एचआइभी, हेपाटाइटिस ‘बी’ परीक्षण गरी फलफूल वितरण गरेको प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउदले बताए। धनगढी उपमहानगरपालिका–५ टिसीएनचोकस्थित धनगढी डाइग्नोस्टिक्सले वार्षिकोत्सवका अवसरमा विशेष छुट अफर ल्याएको हो ।
आफनो तेस्रो वार्षिकोत्सवका अवसरमा डाइग्नोस्टिक्सले होलबडी प्याकेज रु पाँच हजार, मिनी होलबडी प्याकेज रु दुई हजार र थाइराइड जा“च रु ५०० मा गराउन लागेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
विभिन्न निःशुल्क शिविरसमेत आयोजना गरी सेवामुखी काममा सक्रिय धनगढी डाइग्नोस्टिक्स सेन्टरले वार्षिकोत्सवका अवसरमा सो सुविधा दिइएको जनाएको छ । हालसम्म डाइग्नोस्टिक्स सेन्टरले ६७० को निःशुल्क मधुमेह जाँच, सात हजार बढीको सिकलसेल जाँच गरेको डाइग्नोस्टिक्स प्रालिका प्रयोशाला प्रमुख नीरज भट्टको भनाइ छ ।
प्रतिक्रिया