एक नगरका दुई कार्यालय : सेवाग्राही अन्योलमा

विहीबार, २९ फागुन २०७६, १५ : १५

– शंखर पहाडी

सर्लाहीको बलरा नगरपालिकामा  दुई स्थानमा कार्यालय राखेर  नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको  कार्यालय राखेर नगरको काम गरेका हुन् ।्नगरपालिकाको आफ्नो कार्यालय हुँदाहँुदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहेका छन् । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

स्थानीय निकायको निर्वाचन भएर जनप्रतिनिधि आउँदा  आफूहरुले पाउँने सेवासुविधामा सहज महसुस गरेका नगरवासी अहिले समस्यामा परेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ ।  एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरुले बताउँदै आएका छन् । साथै नगरको विकास लगायत नगरसभासहितका कामकारवाही नराम्ररी प्रभावित भएका छन् ।

नगरप्रमुख सिंह र नगरउपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका हुन् । पछिल्लो समयमा नगर उपप्रमुख रामसखीले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर नगरप्रमुख सिंहको विरोध गरेको बताइएको छ । उनले नगरप्रमुख सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकास लगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाए । 

“ आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेको भए पनि नगरप्रमुख सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राखेको र आफ्नो मनोमानी निरन्तर गरिरहेका छन् ।”,  नगरउपप्रमुख रामसखीले भने । अर्काततिर नगरप्रमुख सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताउछन् । “आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ”, नगरप्रमुख सिंहले भने।

उपप्रमुख र वडाध्यक्षले विना काममा नगरको काममा अवरोध गरी पटकपटक तालाबन्दी गरेका र आफूलाई त्यो स्वीकार्य नभएकाले बाध्य भएर अर्को कार्यालय खोलेर भए पनि आफूले नगरवासीको सेवा गरिरहेको नगरप्रमुख सिंहको भनाइ छ  । एउटै नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् । कर्माचारी नगरप्रमुखको वा उपप्रमुख कसको कार्यालयमा बसेर काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

विहीबार, २९ फागुन २०७६, १५ : १५

प्रतिक्रिया