लायन्स क्लबद्वारा अस्पताललाई नौ लाखको स्वास्थ्य सामग्री

शनिबार, ०१ चैत्र २०७६, १० : २९

लायन्स क्लब अफ श्रीनगर पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार सहयोग गरेको छ ।  वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन जस्ता बच्चाको उपचारलाई प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो । 

क्लबका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई तीसामग्री प्रदान गरेका हुन । 
  
विसं १९७० मा स्थापित पाल्पा जिल्लाकै पुरानो सरकारी अस्पताल हो । 

समयअनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । उपचारमा सहज होस् भनी लायन्स क्लबअन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लबका अध्यक्ष कार्कीले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जिल्लाकै पुरानो अस्पताल भए पनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लबले गरेको सहयोगले अस्पताल सञ्चालनमा ठूलो सघाउ पुगेको बताए ।
 
क्लबले प्रदान गरेको स्वास्थ्य सामग्री २८ दिन भन्दामूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो । 

भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदिश कँुवरले जानकारी दिए ।

 फोटो थेरापीले कमलपित्तको उपचार, बेबी रिससिटेसनले श्वासप्रश्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ ।

 अप्टीमा सोलुसन हात धुन प्रयोग गरिन्छ । उपचारका सामग्री र औषधिको अभावले सोचे जति बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
 

शनिबार, ०१ चैत्र २०७६, १० : २९

प्रतिक्रिया