छोरी बुहारीको पढाईखर्च गाउँपालिकाले ब्यहोर्ने

मंगलबार, ०४ चैत्र २०७६, १३ : २९

महिलालाई आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुन नदिन गुल्मीको मदाने गाउँपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्च शिक्षा पढाउन शुरु गरेको छ । 

गाउँपालिकाभित्रकै जनज्योती क्याम्पसमा छोरी, बुहारीहरुलाई निःशुल्क बीएड अध्ययन गर्ने व्यवस्था मिलाएको हो । 

यहि शैक्षिक सत्रदेखि शुरु भएको छोरी बुहारी निःशुल्क उच्च शिक्षा कार्यक्रम अन्तर्गत भर्ना भएका सबै छोरी बुहारीको क्याम्पसमा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने अध्यक्ष दान बहादुर केसीले बताए । 
‘अहिले पहिलो वर्षको कार्यक्रम शुरु भएको छ, चौथो बर्ष सम्म छोरी बुहारीहरुलाई गाउँपालिकाले निःशुल्क पढाउँछ’, उनले भने ।

गत बर्ष गाउँ गाउँमा बुझ्दै जाँदा पढ्ने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण बिशेष गरि दलित समुदाय र अन्य विपन्न बर्गका छोरी बुहारीहरु उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित भएको पाईएपछि छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागू गरिएको केसीको भनाई छ । 

आगामी बर्ष देखि कक्षा ११ र १२ मा पनि गाउँपालिकाले छोरी बुहारीहरुलाई निःशुल्क पढउने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले बताए । 

‘कक्षा १० सम्म केन्द्र सरकारले नै निःशुल्क शिक्षा दिएको छ, कक्षा ११ देखि उच्च शिक्षासम्म गाउँपालिकाले निशुल्क पढाउन लागेको हो,’ उनले भने । 

सो गाउँपालिकाले असुरक्षित बसोबास रहेको दलित परिवारका लागि  एकिकृत नमुना वस्ती समेत बनाइदिएको छ । 

मंगलबार, ०४ चैत्र २०७६, १३ : २९

प्रतिक्रिया