जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २८ छात्रछात्रा सहभागी हुन नपाउने भएका छन् । कतिपय विद्यार्थीले परीक्षाका लागि विद्यालयमा आवेदन फाराम नभरेको, बीचैमा पढाइ छाडेको र नियमित उपस्थित नहुँदा ७० प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सहभागी हुन अयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले बताए । यसरी अयोग्य विद्यार्थीमा १८ छात्रा र १० छात्र छन् ।
बिहीबारदेखि सञ्चालन हुन लागेको एसइई परीक्षामा यसपटक जिल्लाका १४५ विद्यालयका चार हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन् । कार्यालय प्रमुख ज्ञवालीका अनुसार परीक्षामा नियमिततर्फ चार हजार ६२८ र आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना छन् । परीक्षमा सहभागी हुनेमध्ये छात्रा दुई हजार ५१५ तथा छात्र दुई हजार १९२ जना छन् ।
यही चैत १७ गतेसम्म सञ्चालन हुने यस वर्षको परीक्षामा प्राविधिक शिक्षातर्फ जिल्लामा सञ्चालित १६ विद्यालयमध्ये ६ विद्यालयका विद्यार्थी मात्र सहभागी हुने शिक्षा विकास एकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्षको एसइईमा छ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि जिल्लाभित्र २६ परीक्षा केन्द्र निर्धारण गरिसकिएको छ ।
प्रतिक्रिया