काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल नतिरेको भन्दै बुधबार धमाधम उद्योगीको लाइन काट्न थाल्यो । उसले विराटनगरको रघुपति जुट मिल र रिलायन्स स्पिनिङ मिलको बत्ती काट्यो । प्राधिकरणले बुधबार नै अन्य केही उदोगको समेत लाइन काट्ने तयारी गरेको थियो । प्राधिकरण स्रोतका अनुसार कम्तीमा पनि दुइृ दर्जन उद्योगीको लाइन काट्ने तयारी थियो ।
विद्युत्को लाइन काटिएको जानकारी आएपछि उद्योगी व्यवसायीले दिउँसै धेरै चलखेल गरे । साँझ ऊर्जा मन्त्रालयमा अर्थमन्त्री, ऊर्जा मन्त्री र उद्योगमन्त्रीको बैठक बस्यो । सो बैठकले भन्यो, उद्योगीको लाइन नकनटनु र काटिएको भए पनि जोडिदिनु ।
त्यसो त प्राधिकरणका कार्यकारी निर्देशक कुलनमा घिसिङले बिल नतिर्ने उद्योगको लाइन काटन सबै शाखा प्रमुखलाई निर्देशन दिएका थिए । उनको निर्देशन १२ घण्टा पनि टिक्न पाएन ।
बुधबार नेपाल विद्युत् प्राधिकरणले २ वटा उद्योगको बक्यौता नबुझाएको भन्दै विजुली काट्ने निर्णय कार्यान्वयन गर्यो ।
बिराटनगरको रघुपति जुट मिल र सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङको विजुलीको लाइन प्राधिकरणले काटिदियो ।
प्राधिकरणका अनुसार रघुपति जुट मिलले १५ करोड रुपैयाँ र रिलायन्सले डेढ अर्ब रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।
दुई दर्जन उद्योग र प्राधिकरणबीच डेडिकेटेट र ट्रंकलाइनको विजुलीको बक्यौताको विषयमा विवाद छ । प्राधिरणले पठाएको महशुल तिर्न नसक्ने उद्योगीहरु बताउँछन् ।
प्राधिकरणले भने उद्योगीहरुले लोडसेडिङको बेला लिएको डेडिकेटेट र ट्रंकलाइनको महशुल नबुझाएको दाबी गर्छ । यो विवाद सार्वजनिक लेखा समितिसम्म पुगेको छ ।
लेखासमितिले बक्यौता रकम उठाउन र निर्णय प्रक्रियामा संलग्न प्राधिकरणका उच्च कर्मचारी तथा संचालकलाई मुद्दा चलाउन अख्तियारलाई पत्राचार गरेको छ ।
बुधबार दुईवटा उद्योगमा विजुलीको लाइन काटिएपछि योसँग सरोकार राख्ने उद्योगीहरुको बैठक बस्यो । उद्योगीहरुले ऊर्जामन्त्रालय, अर्थ तथा उद्योग वाणिज्य आपूर्तिमन्त्रीसँग कुरा गरे ।
बुधबार बेलुका ऊर्जा मन्त्रालयले प्राधिकरणलाई बिहीबार नै काटिएको लाइन जडान गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरसको कारण अर्थतन्त्र समस्यामा परेको हुँदा अहिलेलाई बिजुलीको लाइन जडान गर्न दिन निर्देशन मन्त्रालयले प्राधिकरणलाई दिएको हो । सरकारले समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरेपनि त्यसको बैठक नै बस्न सकेको छैन ।
प्रतिक्रिया