बुलबुलेमा क्वारेन्टाइन बनाइँदै

आइतबार, ०९ चैत्र २०७६, १२ : १४

कोभिड– १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आजदेखि क्वारेन्टाइन कक्ष निर्माण शुरु गर्ने तयारी गरेको छ ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० श्यया क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ । 


वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्श निकालेको छ । नगर प्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोत साधन जुटाएमा एक सातामै एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ । 

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपाली फर्कने क्रम बढ्दो छ । घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकामा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।

आइतबार, ०९ चैत्र २०७६, १२ : १४

प्रतिक्रिया