नापतौल ऐन संसोधन : ३० हजारबाट पाँच लाख पुग्यो जरिवाना

सोमबार, १२ जेठ २०७७, १५ : ४६

कसैले नाप तौलयन्त्रको छाप बिगारेर वा जाली टाँचा लगाएको खण्डमा ३० हजार जरिवानामाट ५ लाख पुग्ने भएको छ । 

राजस्व वृद्धि गर्ने उद्देश्यसहित स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ संशोधन विधेयकमा यस्तो  व्यवस्था ल्याउन लागिएको हो । 

ऐनमाअहिलेसम्म भएको व्यवस्था अनुसार  तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने ंव्यवस्था रहेकोमा अब ऐन संसोधन गरेर तीन वर्षसम्म कैद र तीन लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गत बिहिबार राष्ट्रिय सभामा ‘स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गर्दै ऐन विपरीत नाप वा तौल, नाप्ने वा तौलिने यन्त्र बिक्री वितरण र प्रयोग गर्नेलाई जरिवाना गरेर राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताए।     

‘नाप्ने वा तौलने यन्त्रसम्बन्धी यस ऐन विपरीत कार्य गरेमा दफा ३० बमोजिम जरिवाना हुने रकमबाट नेपाल सरकारको राजस्व वृद्धि हुने अवस्था रहेको छ’ विधेयकको आर्थिक टिप्पणीमा भनिएको छ ।

ऐनमा निरीक्षकले जानी–जानी ऐन विपरीत टाँचा लगाइदिएको अवस्थामा तीन महिना कैद वा एक हजार रुपैंया जरिवाना वा दुवै सजाय रहेकोमा प्रस्तावित व्यवस्थाअनुसार यस्तो कसुर गर्ने निरीक्षकलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

प्रस्तावित व्यवस्थाअनुसार अनुमति नलिई नापतौल यन्त्र प्रयोग गरे पाँच हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना हुनेछ । मोहोरबन्दी गरिएका प्याकेजमा नाप वा तौल स्पष्ट उल्लेख गरी लेवल नलगाए पाँच हजारदेखि १० हजारसम्म जरिवाना हुनेछ । इजाजत नलिई नाप तौल यन्त्र बिक्री वितरण वा पैठारी गरे २५ हजारसम्म जरिवाना हुनेछ ।

नापतौलभन्दा घटी÷बढी लिए वा लिन लगाए, दिए वा दिन लगाए पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

निर्माण सामग्री, सुन, चाँदी वा मूल्यवान धातु, पेट्रोलियम पदार्थ, एल।पी।जी। वा उद्योगले नापतौलभन्दा घटीरबढी लिए वा लिन लगाए, दिए वा दिन लगाएको खण्डमा ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ । सिमेण्ट, छड, इँटा, गिट्टी, बालुवा, जिओ–टेक्स्टाइल, पेन्ट, सिमेन्ट बोर्ड, झ्याल ढोकामा प्रयोग हुने काठ, सिसा, यु.पी.भी.सी र बिजुलीको तारलाई निर्माण सामग्री भनिएको छ ।

विधेयकको उद्देश्य र कारणमा पनि यस्तै भाव छ । ‘ऐन विपरीत नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र बिक्रीवितरण वा प्रयोगमा रोक लगाउन, नियन्त्रणमा लिन वा जफत गर्नेलगायतका विषयलाई नियमन गर्न आवश्यक भएकोले प्रस्तुत विधेयक पेश गरेको छु’ उद्योगमन्त्री भट्टले विधेयकको उद्देश्य र कारणमा लेखेका छन् ।

कसैले यस ऐन विपरीत हुनेगरी नाप तौल वा नाप्ने तौलिने यन्त्र बिक्रीवितरण वा प्रयोग गरेको पाइएमा निरीक्षकले त्यस्तो नाप्ने वा तौलने यन्त्र प्रयोगमा रोक लगाउन, नियन्त्रणमा लिन वा जफत गर्न सक्नेछ व्यवस्था समेत थप गरिएको छ ।

सोमबार, १२ जेठ २०७७, १५ : ४६

प्रतिक्रिया