काठमाडौँ - धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
हालै धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाएको हो ।
नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल स्टक एक्सचेन्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ ।
धितोपत्र बोर्डले धेरै पहिलेदेखि नै नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि अनेक प्रयास भएका थिए । तर अर्थ मन्त्रालयबाट सकारात्मक संकेत नपाएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघिका दुई आर्थिक वर्षका नीति तथा कार्यक्रममा बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी ल्याउने उल्लेख गरेको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने उक्त विषय हटाइएको छ । बरु यो आर्थिक वर्षमा नीति तथा कार्यक्रममा नेप्सेको संरचनात्मक सुधार गर्ने उल्लेख छ ।
नेप्से सरकारी स्वामित्व भएकाले बोर्डले चाहेअनुसार सुधार गर्न सकेको छैन । यहीकारण पटकपटक नयाँ एक्सचेन्ज कम्पनीको चर्चा उठ्ने गरेको छ । यसकारण यसलाई बजारको आवश्यकतासँग पनि जोडेर हेर्ने गरिएको छ ।
तर अहिले मुलुकको राजनीतिमा पुनः अस्थिरता उत्पन्न भएको छ । यही बेला नयाँ एक्सचेन्जको कुरा उठेकाले राम्रो तथा योग्य कम्पनी छनोटमा समस्या हुन सक्ने जानकारहरू बताउँछन् ।
धितोपत्र बोर्डले करिब दुई वर्षअघि नै निजी क्षेत्रको लगानीमा नयाँ एउटा एक्सचेन्जलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
प्रतिक्रिया