काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा ७७ हजार ६ सय ९९ जना नेपाली विदेशिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको तथ्याङ्कका अनुसार गत वर्षको तुलनमा यो वर्ष ५९.९ प्रतिशतले घटेको हो । तग आर्थिक वर्षको ११ महिनामा एक लाख ९३ हजार ८८० जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका थिए ।
त्यस्तै गत आर्थिक वर्षमा एक लाख ९३ हजार ९४५ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका थिए । कोरोना महामारिका बेला पनि उक्त सङ्ख्यामा नेपाली कामदार विदेशिएका हुन् । तर, गत वर्षको तुलनामा यो वर्ष भने विदेशिने नेपालीको संख्या घटेको छ । दोस्रो लहरको कोरोना संक्रमण सँगै विभिन्न देशले नेपाली यात्रुलाई प्रतिबन्ध लगाए सँगै विदेशिने नेपालीको संख्या पनि घटेको हो ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै साउदी गएका छन् । उक्त ११ महिनामा नेपालबाट २३ हजार ४५६ जना नेपाली रोजगारीका लागि साउदी गएका हुन् । त्यस्तै सोही महिना सम्ममा १८ हजार ७३२ जना नेपाली वैदेशिक रोजगारीका लागि नेपाली कामदार कतार गएका छन् ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा १६ हजार ९५६ जना युएई, दुई हजार ९५९ जना बहराइन, दुई हजार ८४२ जना मलेसिया, एक हजार ८४५ जना रोमानिया, एक हजार ६३८ ओमन, एक हजार १८८ जोर्डन, एक हजार ७२ जना अफगानिस्थान, एक हजार २४ जना माल्दिभ्स र एक हजार १२ जना कुवेत गएका छन् ।
त्यस्तै सोही महिनामा ९३३ जना साइप्रस, ६६५ जना टर्की, ५५० जना जापान, ४१४ जना पोल्याण्ड, १६८ जना माल्टा, १४ जना दक्षिण कोरिया, ४ जना इजरायल, २ जना लेबनान र अन्य दुई हजार २८५ गरी जम्मा ७७ हजार ७९९ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका हुन् ।
साथै कोरोना महामारीको दोस्रो लहरको संक्रमण तिव्र गतिमा फैलिए सँगै यसको नयाँ नयाँ भेरियन्ट भेट्न थालिएको छ । यो सँगै अहिले विभिन्न देशले कामदारका लागि भिन्न नियमहरू लागू गरेका छन् । यूएईले आफ्नो मुलुकले मान्यता दिएको खोपका दुवै डोज लगाएकालाई मात्र प्रवेश दिने निर्णय गरेको छ । यूएईले अक्सफोर्ड एस्ट्राजेनेका, सिनोफार्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । ती मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ ।
कुवेतमा फाइजर र अक्सफोर्डको खोपले मान्यता पाएका छन् । कुवेतमा फाइजर खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउन लागि करिब चार महिना पर्खनु पर्ने नियम छ ।
कुवेतले कोरोना भाइरसविरुद्ध खोपको दुवै डोज लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
खोपको मात्रा पूरा गरेका यात्रु जोखिम मुलुकको सूचीमा समावेश भएका देशबाट कुवेत गएको भएपनि क्वारेन्टाइन बस्नु नपर्ने बताइएको छ । साथै साउदी अरबले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप स्वीकृत गरेको छ । उक्त मुलुक जाने सबैले खोप लगाए नलगाएको बारे जहाज टिकट लिनुपर्ने छ । स्वीकृत अन्य खोप भए दुई डोज र जोनसन एण्ड जोनसनको खोप भए एक डोज लगाएको अनलाइन दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ ।
प्रतिक्रिया