युनियन लाइफको आईपीओ बाँडफाँड कहिले ?

विहीबार, ३१ असार २०७८, १३ : २०

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ । 

आईपीओ बाँडफाँडको लागि फाइलहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाइएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ । सेबोनबाट स्विकृती पाएमा आज प्री-अलोटमेन्ट सम्पन्न गरेर भोलि बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.९१ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको हो ।

विहीबार, ३१ असार २०७८, १३ : २०

प्रतिक्रिया