यूनियन लाइफको आईपिओमा ७० हजारको हाराहारीमा आवेदनहरु रद्ध, कारण के ?

विहीबार, ३१ असार २०७८, १५ : ३५

काठमाडौं, शेयर बाँडफाँडको तयारीमा रहेको यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनका दौरान पनि ७० हजार हाराहारीमा आवेदनहरु रद्ध भएका छन् । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार एक दिनको सार्वजनिक विदा समेत गरी ५ दिनका लागि निष्काशन भएको शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो ।

उक्त आवेदन मध्ये दोहोरा आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । अन्य कारणका सम्बन्धमा नोटबजारले क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीलाई राखेको जिज्ञासामा उनले बैंक खातामा रकम मौज्दात नभएका कारण ६५ हजार १७५ आवेदन रद्ध भएको बताए ।

यूनियन लाइफको आईपिको सन्दर्भमा एक जानले धेरै जनाको खाताबाट गरेको आवेदनका कारण नै २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको हो । कम्पनीले आफ्ना कर्मचारी र सामुहि लगानी कोषका लागि पाँच पाँच प्रतिशत शेयर सुरक्षित गरेर निष्काशन गरेको ५८ लाख ५ हजार कित्ता शेयर १० कित्ताका दरले ५ लाख ८० हजार ५०० आवेदकले मात्र पाउँछन् । यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

प्रभु क्यापिटलले बिहीबार इन्स्योरेन्सको साधारण शेयरको प्रिअलटमेण्ट गरिसकेको छ । बोर्डले स्वीकृति दिएको खण्डमा बिहीबार नै शेयर बाँडफाँड गरि नतिजा सार्वजनिक गरिने प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ ।

विहीबार, ३१ असार २०७८, १५ : ३५

प्रतिक्रिया