नेपाली कामदार दक्षिण कोरिया र इजरेल जान कहिले सम्ममा पाउलान् ?

शनिबार, १६ साउन २०७८, १० : ३३

कोरोनाभाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर बसेका कैयौँ नेपाली कामदारहरू कहिले दक्षिण कोरिया जान पाउँछन् भन्ने अझै पनि निश्चित भइनसकेको अधिकारीहरूले बताएका छन्।

तर कामदार पठाउन सहजीकरणको लागि आवश्यक कार्य अघि बढाइएको उनीहरूको भनाइ छ।
त्यस्तै दुई सरकारबीचको सम्झौता अर्थात् जीटुजीमार्फत् इजरेलमा कामदार पठाउने प्रक्रिया पनि सुरु भइसकेको अधिकारीहरूले जानकारी दिए।

वैदेशिक रोजगार विभागका महानिर्देशकका अनुसार जापानमा पनि 'नयाँ क्षेत्रमा'कामदार पठाउन सरकारले छलफल अघि बढाएको छ।

दक्षिण कोरिया, जापान र इजरेल आम्दानी र अन्य सुविधाका हिसाबले अरू श्रम गन्तव्यको तुलनामा नेपाली कामदारका लागि राम्रो मानिन्छन्।

यसै साता अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीलाई कोरिया पठाउन पहल गर्ने आश्वासन दिएको मन्त्रालयले जनाएको छ।

गत बुधवारको भेटबारे मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो।

नेपालीहरूको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

उक्त वक्तव्यअनुसार मन्त्री शर्माले भाषा परीक्षा पास गरेर बसेका नेपालीलाई कोरिया जाने वातावरण मिलाउन गरेको आग्रहपछि उनले त्यस्तो प्रतिक्रियता दिएका थिए।

अधिकारीहरूका भनाइमा कोरोनाभाइरसका कारण कोरियाले नेपाललाई तत्कालका लागि नेपालीले भ्रमण गर्न नपाउने सूचीमा राखेकाले कामदार पठाउन ढिलाइ भइरहेको छ।

यद्यपि अहिले कोरियाले 'येलो जोनूमा राखेको नेपाललाई'ग्रीन जोनू अर्थात् नेपालीले कोरिया भ्रमण गर्न पाउने सूचीमा राख्ने आश्वासन दिएको छ।

'उहाँहरूले त्यसलाई हटाएर ग्रीन जोनमा लाने कुरा गरिराख्नुभएको छ,' वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने।

तर कहिलेसम्म त्यो निर्णय हुन्छ भन्नेबारे केही खुलाएनन्।

त्यसबाहेक दक्षिण कोरिया सरकारले राखेका अन्य केही सर्तका कारण पनि कामदार पठाउन ढिलाइ भइरहेको उनको भनाइ छ।

अधिकारीहरूका अनुसार सर्तमा नेपालबाट कुनै पनि ट्रान्जिट नभईकन कामदार सीधै कोरिया पुग्नुपर्ने, कोभिड-१९ का लागि कम्तीमा ५,००० अमेरिकी डलरको स्वास्थ्य बीमा गरेको हुनुपर्ने र कोरिया पुगेर १४ दिन क्वारन्टीनमा बसेको होटलको खर्च कामदारले बेहोर्नुपर्ने आदि छन्।

बिबिसी 

शनिबार, १६ साउन २०७८, १० : ३३

प्रतिक्रिया