काठमाडौैं - १७ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरण अनुसार उक्त बैंकहरुले रु. ३ अर्ब ९२ करोड ९३ लाख खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरुले रू. ३ अर्ब ७९ करोड ८९ लाख नाफा कमाएका थिए ।
१७ विकास बैंक मध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । बैंकले रु. १ अर्ब १५ करोड ९ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा बैंकको नाफा ६२ प्रतिशतले बढी हो । बैकले अघिल्लो आवको चौथो त्रैमासमा रू. ७० करोड ७४ लाख नाफा कमाएको थियो ।
कर्णाली डेभलपमेण्ट बैंकको खुद नाफा ५५.९ गुणाले वृद्धि भएको छ । बैंकले अघिल्लो आवमा रू. ९ लाख ९ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ५ करोड ८ लाख पुगेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा तीन ओटा कम्पनीको नाफा घटेको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको सबैभन्दा बढी ९५ प्रतिशत, मितेरी डेभलपमेण्ट बैंकको १३.१५प्रतिशत र ग्रीन डेभलपमेण्ट बैंकको खुद नाफा ८.८८ प्रतिशतका दरले घटेको छ ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमध्ये नारायणी डेभलपमेण्ट बैंक नोक्सानीमा रहेको छ । नारायणी डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासमा रू. १ करोड ८ लाख नोक्सानी व्यहोरेको हो । अघिल्लो आवमा कम्पनी रू। ११ लाख ३७ हजार नोक्सानीमा थियो ।
प्रतिक्रिया