५ महिनापछि एकै पटक ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने तयारीमा धितोपत्र बोर्ड, कुन कुन ?

२ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्डले ५ महिनापछि एकै पटक पाँच कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ ।

गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने भएका छन् । 

धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो । 

यस्तै, ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएको हो । नेष्डो लघुवित्तले भने ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीका लागि २०७८ साल असार ६ गते निवेदन दिएको थियो ।

हाल धितोपत्र बोर्डमा यी पाँच कम्पनीहरुसहित ३१ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।

२ बर्ष अगाडि

प्रतिक्रिया