जनकपुर- सरस्वती पूजाको तयारीका लागि भन्दै धनुषा र महोत्तरीका थुप्रै सामुदायिक विद्यालयहरूमा एक सातादेखि पठनपाठन बन्द छ । प्रदेश २ शिक्षा विकास निर्देशनालयले पठनपाठन चालु गर्न सबै विद्यालयलाई लिखित निर्देशन दियो, तर त्यसको अवज्ञा गरियो । सकभर विद्यालय जानै नपरोस् भन्ने चाहना राख्ने यहाँका शिक्षकहरू विद्यालय बन्दको अनेक वहाना खोजिरहेका हुन्छन् र सरस्वती पूजा उनीहरूका लागि विद्यालय बन्द गर्न पाउने उपयुक्त माध्यम बन्न पुगेको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
शिक्षा विकास निर्देशक रमाकान्त शर्माले प्रधानाध्यापकहरूलाई त्यसरी विद्यालय बन्द नगर्न लिखित निर्देशन दिँदा पनि अवज्ञा गरेको गुनासोे गर्दै भने, “प्रधानाध्यापकहरूलाई पूर्व तयारीका लागि एक दिन बिदा गर्नुहोस् भन्दा तयारी गर्न पुग्दैन, त्यसैले सातै दिन चाहिन्छ भने । उसो भए दुई दिन बिदा गर्नुहोस् न त भन्दा शिक्षक निर्देशकज्यू बरू सरस्वती पूजा नै नगर्नू भनेर आदेश दिनुस्, स्कुल खुलाइदिन्छौँ भने । मैले कसरी सरस्वती पूजा नगर्नुहोस् भन्न सक्छु ?”
कानुनमै विद्यालय कम्तीमा २२० दिन खुल्नुपर्ने र १९० पठनपाठन हुनुपर्नेमा अधिकाँश विद्यालयमा तोकिएको दिनसम्म पठनपाठन हुने गरेको पाइँदैन । विद्यालय शान्ति क्षेत्र भनिए पनि राजनीतिक दलको कार्यक्रमले सबैभन्दा प्रभावित हुने गरेको छ ।
प्रतिक्रिया