हरेक व्यक्तिको जन्म हुन्छ केही पलमा यहाँ
हरेक व्यक्तिको मृत्यु हुन्छ सोही पलमा यहाँ
जिन्दगी जन्म र मृत्युको यात्रा हो !
त्यसैले जिन्दगीमा यति प्रगति गर्न मन छ की,
फर्केर हेर्दा आफ्नै जीवनको बाटो आफैँलाई असम्भव लागोस् !
कि त जित्ने छु कि त लाखौँ कुरा सिक्ने छु
तर, आफ्नो जिन्दगीको बाटो कहिले मोड्ने छैन्
कहिले रोक्न छैन... यी शब्द हुन, अनु अनमोल केसीको ।
बुटबलको देवदहमा एक दाजु र दिदी पछि घरमा कान्छो छोराको रुपमा २० वर्षअघि अनु अनमोलको जन्म भयो । सानैदेखि बुबा र दाजुको तुलनामा आमा र दिदीसँग नजिक हुन उनी रुचाउ थिइन् । अनु अनमोलले आफ्नो बाल्यकाल प्राय : बालिकाहरुसंगै बिताइन् । विद्यार्थी जीवनमा उनका शिक्षकहरूले उनलाई उनको बानी व्यवहारका बारेमा प्रश्न सोधि रहन्थे र साथीहरूले उनको हिँडाइ तथा बोलाइ केटीको जस्तो भनेर जिस्क्याइ रहन्थे । उनी जति जति केटाको जस्तो व्यवहार देखाउने प्रयास गर्थिन्, उति उति नै असफल हुन्थिन् ।
उनी भन्छिन्, 'छोराको रुपमा जन्मिएँ, त्यसैले परिवार र आफन्तहरू निकै खुसी थिए । तर, त्यो खुसी खुसीमै सीमित रह्यो । हुर्कंदै जादा मेरो व्यवहार, अनुभूति र आनी बानीमा छोरी मान्छेको स्वभाव देखिन थाल्यो । मेरो आनी बानी देखेर सबै छक्क पर्थे । तर, मलाई भने त्यस्तो केही अनौठो लाग्दैनथ्यो । सानैदेखि दिदीको ड्रेस लगाउने, आमाको लिपिस्टिक लगाउने, सारी लगाउन रहर लाग्थ्यो र लगाउथेँ पनि । परिवारका सदस्य र आफन्तहरूले भने अहिले सानै छ, ठूलो भएपछि आफैँ त्यस्तो सोच र व्यवहार हराउँछ भन्ने सोच्थेँ ।'
उनले थपिन्, 'तर, मेरो आनीबानीमा परिवर्तन आएन । बरु ममा केटीहरूको हाउभाउ नै बढी झल्किन थाल्यो । स्कुल पढ्दा, साथीहरूसँग हिँड्दा तँ कस्तो गरि बोलको, कस्तो केटी जस्तो गरेर हिँडेको, केटा मान्छे त यस्तो गर्दैन इत्यादि भन्दा मलाई म अरु केटाहरुभन्दा फरक छु भन्ने लाग्थ्यो । मैले यस्तो महसुस पनि गरेँ । केटा मान्छेका रुपमा जन्मिएकाले परिवार र समाजले मलाई पुरुषकै व्यवहार गथ्र्ये । अनि मलाई भने कहिले आफू केटा मान्छे हुँ भन्ने महसुस नै भएन ।'
उमेर बढ्दै गएपछि ममा जुन परिवर्तन आउनु पथ्र्यो त्यो नआएको उनले सुनाइन् । 'जन्म लिदाँ जुन रुपमा जन्म लिए पनि ! शारीरिक बनावट केटाको भए पनि मन, अनुभूति केटीको जस्तो भएपछि त त्यो केटी नै हो नि, होइन र ? तर, जन्मिँदा जुनरुपमा जन्मियो व्यवहार पनि त्यस्तै गर्नुपर्छ भने सोच्छ हाम्रो समाजले ।'
उनी त्यो नमिठो पललाई सम्झदै अघि बढिन्, 'परिवार र आफन्तहरूले मलाई केटा भएर केटा जस्तो भएर हिड्, परिवारको इज्जत गयो, कुलको इज्जत गयो भन्दै कराउँनु हुन्थ्यो । तर, मैले कसरी सक्नु ? मन भित्रदेखि आएको अनुभूति कसरी परिवर्तन गर्न सक्थेँ र ? सक्ने भए कयौ वर्ष मानसिक यातना सहेर बस्थेँ होला र ? किन म यस्तो गर्छु, किन मलाई यस्तो भएको होला भन्ने लाग्थ्यो । आफ्नो व्यवहार देखेर आफैँलाई अचम्म पनि लाग्थ्यो । म पूरै 'कन्फ्युज' थिएँ । अहिलेकोे समय जस्तो हातमा स्मार्टफोन हुदैन्थ्यो, केही कुराको जानकारी लिन जानु कहाँ जानु ? सोध्नु कसलाई के भनेर सोध्नु ? मलाई छोरी मान्छेले गर्ने काम मात्रै गर्न मन पथ्र्यो । पछि बुझ्दै गए, म जस्ता मान्छे हाम्रो समाज, देश र संसारमा नै लाखौँ करोडौँ हुन्छन् भन्ने थाहा भयो ।'
परिवार, आफन्तको इज्जत र समाजको डरका कारण मनमनै डराएँ पनि आफू जे हुँ जस्तो हुँ त्यसैमा गर्व गरेर अगाडि बढ्दै गएको उनले बताइन् । अझै यस्ता कयौँ सपनाहरु पुरा गर्ने क्रममै रहेको उनले सुनाइन् ।
मिस युनिभर्स नेपाल २०२२ को यात्रा
२०१९ बाट उनले आफ्नो मोडलिङ्ग यात्रा सुरु गरिन् । हजारौँ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्रतिनिधित्व गर्दै ठूलो प्लाटफर्ममा पुग्ने उनको सपना थियो । यिनै कयौँ सपना साचेर राखेकी उनले 'मिस युनिभर्स नेपाल २०२२' को प्रतिस्पर्धाको मैदानमा उर्तिने निधो गरिन् । 'मिस युनिभर्स नेपाल २०२२' मा बुटबलबाट प्रतिनिधित्व गरेकी थिइन् । उनि सहभागी १९ प्रतिस्पर्धीमा शीर्ष १० सम्म पुग्न सफल भइन् ।
उनी भन्छिन्, 'आज भन्दा ३ वर्ष अगाडि साथीहरुको साथमा मोडलिङ्ग यात्रा सुरु गरे । ३/४ वर्ष अगाडि त बुटबलमा मोडलिङ पनि कमै हुने गथ्र्यो । त्यसमाथि हामी जस्तो ट्रान्सजेन्डरलाई झनै गाह्रो पर्ने गथ्र्यो । इभेन्टहरु/प्रोग्रामहरुमा काम गर्दै संघर्ष गर्दै अघि बन्दै गए । 'मिस युनिभर्स नेपाल २०२१' मा नै भाग लिने सोच बनाएकी थिए । तर, पारिवारिक समस्या र तयारी नपुगेको जस्तो महसुस गरेर फारम भरेर पनि यत्तिकै थन्काएर राखे । एक वर्षमा धेरै कुरा सिक्ने र हेर्नै मौका पाए । जसले गर्दा मैले आफ्नो आत्मविश्वास अझै बलियो बनाउँदै गए ।'
उनले मुहारमा खुसी झल्काउँदै भन्दै गइन्, 'म जस्तो हजारौँ लैङ्गिक अल्पसंख्यकहरुको प्रतिनिनिधित्व गर्दै म मिस युनिभर्स नेपालमा सहभागी हुन् पाए । विजेता हुनु नहुनु आफ्नो ठाउँमा छ । तर, हाम्रो समुदायको लागि म शीर्ष १० जानु नै ठुलो कुरा हो । म मेरो क्षमता र आत्मविश्वासले गर्दा आज यहाँसम्म पुगे । आउने दिनहरुका संघर्ष त छदैँछ र भोलीको संघर्ष सम्झेर आजलाई जीउन बिर्सनु हुदैँन् । आफ्नो कर्म प्रति एकदैम सन्तुष्ट र खुसी छु ।'
समाज र मिस युनिभर्स नेपालमा पाएको फरक
अहिले पनि हामी र हाम्रो समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई छुट्टै नजरले हेर्ने, व्यवहार गर्ने गर्छन् । यसैले उनलाई पनि फेरी यो कुरा दोहोरिएला कि जस्तो लागेको थियो । उनी भन्छिन्, 'मिस युनिभर्स नेपालमा छनौट भईसकेपछि भित्र कतै कतै हाम्रो समाजले हाम्रो समुदायलाई जुन व्यवहार देखाएको छ त्यही व्यवहार पाउने हुँ की ? भनेर डर पनि लागेको थियो । खोलामा हाम नफालेसम्म परैबाट हेरेर खोलाको गहिराई थाहा नभए जस्तै मैले पनि यहाँँ गईसकेपछि मात्र महुुसस गरे । यहाँ उपस्थित र म लगायत अन्य प्रतिस्पर्धीसंगै सम्मान व्यवहार, इज्जत र साथ पाए । मलाई प्रतिस्पर्धी लगायत सम्पूर्णले पूर्ण रुपमा खुल्ला ठाउँ दिनुभयो । जहाँँ मैले मेरो काम, क्षमतालाई ढुक्कसंग प्रस्तुत गर्न सके ।'
यहाँ लिङग जात धर्मले होइन आफ्नो क्षमताले स्थान पाउनु पर्छ । यसैले (सामाजिक संस्था एलजिबिटीक्यू) लाई यस क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा ठाउँ दिइयो भनि केही न केही गर्न सक्ने उनको ठम्याइ छ । 'हाम्रो समुदायमा पनि म भन्दा पनि कयौँ गुणा क्षमतावान व्यक्तिहरु हुनुहुन्छन् । म शीर्ष १० सम्म पुगे पनि आउने दिनहरुमा उहाँहरु यस क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि अगाडि बढेर विजेता हुन सक्ने छन् । मैले भन्दा धेरै राम्रो काम गरेर देखाउन भन्ने मेरो सपना छ । र मैले उहाँहरुको लागि आफूले सक्ने गर्नेछु ।' उनले भनिन् ।
तेस्रोलिङ्गी, समलिङ्गी भन्नेबित्तिकै हाम्रो समाजले छाडा, उच्छुङखल सोच्छ । तर, त्यस्तो होइन उनीहरुको पनि त इज्जत छ । समाज छ, घरपरिवार छ । उनीहरु पनि अरु सबै सरह सम्मानजनक जीवन बाँच्न चाहन्छन् । सुरुमा त उनीहरुलाई आफू को हौँ भनेर नै आफैलाई स्वीकार गाह्रो भईरहेको हुन्छ । त्यसमाथि परिवार र समाजले गर्ने अपहेलनाले गर्दा त एक प्रकारको मानसिक यातना नै झेलीरहेका हुन्छन् । त्यसैले उनीहरुलाई हामिले पनि सम्मान गर्न जरुरी छ ।
आफूहरुले पनि यही सम्मान खोजी रहेको अनु बताउँछीन्, 'म त के भन्छु भने, हरेक व्यक्तिको आफ्नो सपना हुन्छ । इच्छा, चाहना हुन्छन् । आफू हरेक रुपमा बलियो बन्ने प्रयास गर्नु पर्छ अनि मात्र आफू को हुँ भनेर चिन्न सकिन्छ त्यस पछि मात्रै परिवार र समाजलाई चिनाउन सकिन्छ । हामीसंगै हाम्रो परिवारका कयौँ सपना जोड्एिका हुन्छन् । त्यसैलले आफू जो हुँ जे भए पनि आफ्नो र परिवारको सपनालाई मर्न नदिने विश्वास दिउँलाउन सकेमा परिवारका सदस्यलाई पनि हामीलाई स्वीकार्न केही सहज हुन्छ । भोलि गएर कसैको भर पर्न नपरोस । आफूमा जे छ र जे गर्छु आफैँ गर्छु भन्ने विश्वास हुनुपर्छ ।'
संघसंस्थामा आवद्ध
वर्षौ पछि, कसैले नबुझेको त्यही स्कुलले केटा अहिले राष्ट्रिय मोडलका रुपमा परिवर्तन भएकी छिन् । जसले आफ्नो आत्मविश्वासी प्रस्तुति, अग्लो कद तथा आकर्षक व्यक्त्विले ठूलो भीडलाई प्रभावित तुल्याएकी छिन् । २० वर्षकै उमेरमा अनु विभिन्न क्षेत्रमा संग्लन भएर संसस्थामा काम गर्दै आएकी छिन् । उनी ब्लु डायमन्ड सोसाइटी नेपालमा बिगत ३/४ वर्षदेखि आवद्ध छिन् ।
यस संस्थाले एलजिबिटिक्यूको हकअधिकारको लागि लड्छ । साथै एचआईभी क्षेत्रअन्तर्गत पनि काम गर्दै आइरहेको छ । अनु पनि यसै संस्थामा सामाजिक कार्यकर्ताको रुपमा काम गर्दै आएकी छिन् । उनले यस संस्थाबाट एचआईभी लागेका वा एचआईभीकै कारण मानसिक तनाव झेलिरहेका कयौ मानिसहरुको आवाज लिएर काम गर्दै आएकी छिन् ।
एचआईभी लाग्न नदिउँ, लागेकोलाई मर्न नदिउ भन्ने नारा लिएर उनी निरन्तर अघि बढि रहेकी छिन् ।
सरकार प्रति गुनासो
आफूहरु जुनसकै क्षेत्रमा अव्वल रहे पनि सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय प्रति अन्याय गरेको उनको गुनासो छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि संविधानको धारा १२, १८ र ४५ मा नागारिकता, समानता, सामाजिक न्याय जस्ता कुराको व्यवस्था गरे पनि ऐन स्पष्ट र प्रभावकारी नबनेको कुरामा उनी असन्तुष्ट रहेको बताउँछिन् ।
'हाम्रो समुदायका मानिसहरुले नागारिकता लिन मेडिकल प्रमाण देखाउनु परिरहेको छ । डाक्टरबाट मेडिकल प्रमाण दिएपछि त्यो प्रमाण लगेर वडा कार्यालयबाट सिफारिस लिइ अनि सिडिओ कार्यालयमा गएर फलानो व्यक्ति त यस्तो रइछ है भन्ने भए पछि मात्र नागारिकता लिन सक्छन् । जबकी कुनै महिला वा पुरुष गयो भने त त्यो गर्नुपर्दैन । त्यसमाथि डाक्टरहरुले हामीलाई जाँच गर्न आधार के ? प्रणाली के ? यहाँ व्यक्तिगत गोपनीयतको अधिकार खै ? यो एकदमै समस्याको कुरा हो ।'
उनले थपिन, 'नागारिकता लिन जाँदा यो समुदायको भन्ने प्रमाण के छ ? भन्ने प्रश्न सोधिँदा धेरै साथीहरु आफनो पहिचान खुलाएर नागरिकता लिनबाट वञ्चित भएका छन् । जसले गर्दा हाम्रो समुदाय मानिसहरु आफूले पाउनुपर्ने अधिकारबाट पनि वञ्चित हुनु परेको छ ।'
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुमाथि समाजको गतल दृष्टिकोण परिवर्तन गर्न यो समुदायभित्र आफै लाग्नु पर्ने उनी बताउँछिन् । शिक्षाले यस्ता व्यक्ति र यस्ता व्यक्तिमाथि विभेद गर्ने समाजलाई सचेत बनाउँछ, यसकारण हरेक तहबाट यसको लागि आवाज उठाँनुपर्छ ।
प्रतिक्रिया