चीनमा विद्युतीय सवारीको बजार गिरावट

विहीबार, २५ साउन २०८०, ११ : ०४

काठमाडौं – विश्वमा विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गए पनि चीनमा भने यसको व्यापार खस्किन थालेको छ ।  पछिल्लो महिना चीनमा प्यासेन्जर सेग्मेन्टका सवारी साधनको खरिद बिक्रीमा गिरावट आएको छ । नयाँ प्रविधिसँगै विद्युतीय, हाइब्रिड तथा न्यू इनर्जीमा आधारित (एनईभीएस) सवारी साधनको उत्पादन तथा विश्व बजारमा निर्यात गर्दै आएको चीनमै गत जुलाईमा व्यापार खस्किएको हो ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार जुलाई महिनामा कूल ६ लाख ४१ हजार युनिट न्यू इनर्जी भेहिकल (एनईभीएस) गाडी बिक्री भएको छ । जुन एक महिनाको अवधिमा ३.६ प्रतिशतको गिरावट हो ।

अघिल्लो महिना (जुन) मा यस्तो न्यू इनर्जीे भेहिकल ६ लाख ४७ हजार युनिट बिक्री भएको सीपीसीएको भनाइ छ ।

त्यसो त बढ्दो प्रविधि र प्रयोगसँगै पछिल्ला वर्षहरूमा चीनमा न्यू इनर्जीमा आधारित भेहिकलको बिक्री समग्रमा ३१.९ प्रतिशतले बढिरहेको छ ।

विद्युतीय सवारीको बिक्री ६ प्रतिशतले घट्यो

सीपीसीएका अनुसार गत जुलाईमा ब्याट्रीमा आधारित विद्युतीय सवारी (बीईभीएस) को बिक्री ६ प्रतिशतले घट्न पुगेको छ ।

गत जुनमा ४ लाख ४९ हजार युनिट बिक्री भएको विद्युतीय सवारी साधन पछिल्लो जुलाईमा घटेर ४ लाख २१ हजारमा झरेको हो । यद्यपि, यो कूल बिक्री भएको न्यू इनर्जी भेहिकल मध्येको ६५।७ प्रतिशतको हिस्सा हो ।

सन् २०२३ को जनवरीमा २ लाख १३ हजार ६९० युनिट विद्युतीय सवारी बिक्री भएकोमा दोस्रो महिना फेब्रुअरीमा २ लाख ९४ हजार ५३०, मार्चमा ३ लाख ८६ हजार १७४, अप्रिलमा ३ लाख ६० हजार ९३३, मेमा ३ लाख ८८ हजार, जुनमा ४ लाख ४९ हजार र जुलाईमा ४ लाख २१ हजार विद्युतीय सवारी साधन बिक्री भएको सीपीसीएले जनाएको छ ।

 

विहीबार, २५ साउन २०८०, ११ : ०४

प्रतिक्रिया