नेपाल र कोरियाबिच भएको कृषि विकाससम्बन्धी सम्झौता के छ खास ?

शुक्रबार, १७ कार्तिक २०८०, १० : ३०

नेपाल र दक्षिण कोरियाबिच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङकुनबीच उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा सम्झौता भएको हो।

समझदारी पत्रमा कृषि तथा पशुपक्षी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास,पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देशबिचको सहयोग र सहकार्य गर्न सकिने उल्लेख छ। नेपाल र दक्षिण कोरियाबिच सम्झौता भएसँगै नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद्बिचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्य अगाडि बढाइने छ।

सम्झौतामा दुई देशबिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा विशेष गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा कार्य गर्ने, कृषि पूर्वाधारको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशोधन, युवा कृषक तथा निजी क्षेत्रमा कृषि उद्यमीको क्षमता अभिवृद्धि गर्ने विषय उल्लेख छन्। 

सो अवसरमा मन्त्री भुसालले सन् १९७४ मे १४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र गणतन्त्र कोरियाबिच सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको बताउँदै दुई देशबिचको सम्बन्ध सद्भाव, मित्रता र आपसी सहयोगमा आधारित सम्बन्धलाई भविष्यमा थप प्रगाढ बनाइने बताएका छन्।

कोरियाका मन्त्री चुङ ह्वाङकुनले कोरिया सरकारले कृषि क्षेत्रको प्रविधि विकास र अनुसन्धानमा निकै प्रगति गरेको बताउँदै त्यसको अनुभव आदानप्रदान र कृषि क्षेत्रमा थप सहयोग र सहकार्यका लागि कोरिया सरकार प्रतिबद्ध रहेको  जानकारी गराए । 

नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ। नेपालमा विशेष गरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

शुक्रबार, १७ कार्तिक २०८०, १० : ३०

प्रतिक्रिया