मध्य पहाडी लोक मार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका लागि स्थानीय बासिन्दासँगै नेपाली सेना सडक मर्मत गर्न श्रमदान अभियानमा जुटेका छन् ।
स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिक रूपमा खटिएका हुन् । दिक्तेलबाट सेकुवा खोलासम्म उक्त सडक कालो पत्र भइसकेको छ। तर बिचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब तीन सय मिटर सडकमा समस्या आएकाले शुक्रवारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो।
समस्या आएको तीन सय मिटर सडक मध्येमा करिब १सय मिटर सडक हिउँदको समयमा समेत गाडी चल्न सके अवस्था नहुने गरी बिग्रिएको वडा नं.९ का वडा अध्यक्ष दिनेश कठेतले जानकारी दिएका छन् । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए।
‘पङ्खुखोलामा पुल निर्माणको काम १० वर्षभन्दा बढी समयदेखि अलपत्र बनेको छ। करिब ३० प्रतिशत काम गरेर पुल अलपत्र पारेपछि ठेक्कासमेत तोडिएको छ’, पुनः पुल निर्माण कहिले सुरु हुने भन्ने टुङ्गो छैन । तर पुल निर्माणका लागि छाडिएको सडकमा निरन्तर सवारीसाधन अवरुद्ध हुन थालेपछि मर्मत सुरु गरिएको हो।’
तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ । सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा उपलब्ध गराएका छन्। पुनः ठेक्का लागेर पुल निर्माण नहोउन्जेलसम्म त्यस वरिपरिको बाटोमा यात्रा गर्न सहज बनाउने उद्देश्यले सेनासँग समन्वय गरेर श्रमदान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा निःस्वार्थता साथ सहभागी भएको कठेतले आजको अर्थलाई जानकारी दिएका छन्। निर्माण कम्पनीले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गत चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरे पनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।
प्रतिक्रिया