विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
नायब उपरीक्षक पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो।
नवलपुर मध्य विन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए।
हालसम्म नौ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइएको छ । उनीहरूमध्ये सल्यान घर भएका बलबहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
प्रतिक्रिया