पढ्दै कमाउँदैमा अमर मावि अग्र पंक्तिमा

शनिबार, ०९ मंसिर २०८०, १२ : ५१

काठमाडौं – दाङको अमर माध्यमिक विद्यालय उरहरीमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले एक लाख पाँच हजार रुपैयाँ आम्दानी गरेका छन् ।

विद्यालयमा गठित अमर उद्यमी क्लवबाट विद्यार्थीहरुले दुई पटक गरेको कुखुरा पालनबाट खर्च कटाएर ६५ हजार आम्दानी गरेका थिए । उनीहरुले तिहारमा माला र पुष्प बिक्रीबाट खर्च कटाएर ४० हजार बचत गरेका छन् । उक्त आम्दानीको रकमको ५० प्रतिशत क्लवको खातामा राखिने र ५० प्रतिशत रकम विद्यार्थीले लैजाने विद्यालयका प्रधानाध्यापक पदमबहादुर वलीले जानकारी दिनुभयो ।

प्र.अ.यलीलेविद्यार्थीले पहिलोपटक गरेको पुष्प खेतीबाट राम्रो आम्दानी गरेको  बताउनुभयो । तिहारमा सोचे अनुरुप बिक्री नभए पनि यसले निरुत्साहित नबनाएको प्रअ वलीले बताउनुभयो । विद्यालयमा अझै फूलहरु रहेकोले विवाह, पूजामा आवश्यक परे लिनका लागि उहाँले आग्रह गर्नुभयो ।

उद्यमी क्लवमा नयाँ नेतृत्व

यसैबीच उद्यमी क्लवको शुक्रवार नयाँ नेतृत्व चयन गरिएको छ । क्लवका अध्यक्ष विद्यार्थी रोहितकुमार शर्माको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नतेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दोस्रो वर्षका विद्यार्थी शिशिर आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । क्लवको उपाध्यक्षमा कमल भण्डारी, सचिवमा मधु दाहाल, सहसचिवमा रेखा भण्डारी, कोषाध्यक्षमा पूर्णिमा शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा केशव रेउले, दिलीप ओली, डेविट देवकोटा, सुस्मिता ढकाल, मेघराज केसी, कमल भण्डारी, डोल्मा घर्ती, कल्पना खड्का, सन्ध्या शर्मा, सुरेन्द्र गिरी हुनुहुन्छ । निवर्तमान अध्यक्ष रोहितकुमार शर्माले नयाँ कार्यसमितिलाई माइन्यूट हस्तान्तरण गर्दै थप क्रियाकलाप गर्न हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पढाइसँगै विद्यार्थीले कमाउने कार्यले थप प्रोत्साहन गरेको बताएका थिए । विद्यार्थी भुवन शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर वली, विब्यस सदस्य अर्जुन बस्नेत, शिक्षक निर्मलकुमार वलीलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी पुष्पकोमल खत्रीले गर्नुभएको थियो ।

शनिबार, ०९ मंसिर २०८०, १२ : ५१

प्रतिक्रिया