ह्वात्तै चिसो बढेको उपत्यका र आसपासका यी स्थानमा पानी पर्ने सम्भावना

विहीबार, १४ मंसिर २०८०, ०८ : २१

काठमाडौं। आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

बिहानैदेखि अत्यधिक चिसो बढेको उपत्यका र आसपासको केही ठाउँमा पानी पर्ने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार यति बेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा मौसम बदली भएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

‘अहिले बिहानदेखि दिउँसोसम्म देशका उल्लिखित स्थानमा हल्का वर्षा हुने सम्भावना छ’, आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का छिटपुट वर्षा हुने सम्भावना देखिएको छ, त्यस्तो ठुलो वर्षाको सम्भावना भने छैन।’

उनका अनुसार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना भए पनि अपराह्न अर्थात् २, साढे २ बजेपछि मौसम खुल्ने सम्भावना देखिएको छ। महाशाखाका अनुसार राति भने वर्षाको सम्भावना छैन। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको भने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

विहीबार, १४ मंसिर २०८०, ०८ : २१

प्रतिक्रिया