काठमाडौं – खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ
घोराही उपमहानगरपालिका क्षेत्रमा कृषि यन्त्रको प्रयोग तुलनात्मक रुपमा बढ्न थालेको छ । शुक्रवार निवासी किसान तिलक विष्ट कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताउनुहुन्छ । सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ– ‘जोत्नसँगै धानलगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिन्छ ।’
पशुपालनको कमी भैरहेको र ज्यालामा काम गर्ने मानिस पनि नपाइने अवस्थामा प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ– ‘गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छाडिसकेका छन् । जसले गर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहने गरेको थियो तर पछिल्लो समय प्रविधिको सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफै लगाउने गरेको छु ।’
प्रविधिको सहयोगले कृषि पेशा सहज भएको उहाँको भनाइ छ । घोराही उपमहानगरपालिका–७ निवासी किसान चेतराम चौधरी विगत चार वर्षयता ट्रेक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘आफू बृद्धसँगै छोराहरु छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउनेसमेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।’ पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाँझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको छ । उहाँ भन्नुहुन्छ– ‘गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन् । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन् । यस्तो अवस्थामा अधिकांशको खेतबारी बाँझै रहने अवस्था थियो । तर गाउँमा जोत्नका लागि ट्रेक्टर र दाउनका लागि थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।’
धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको जनाउँदै उहाँ भन्नुहुन्छ– ‘पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।’ कृषि ज्ञानकेन्द्र दाङका कृषिविज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने कृषि पेशालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रिकीकरणमा सहयोग गर्दै आएकोे बताउनुहुन्छ । उहाँले कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकीकरणसँगै बिउ, सिंचाईलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया