भूकम्पपीडितले पाए २२ करोड रकम

शुक्रबार, १५ मंसिर २०८०, १३ : ०५

 काठमाडौं –सरकारले भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । 
 पछिल्लो समय सरकारले रकम निकासालाई तीव्रता दिएको छ । प्राधिकरणका प्रवक्ता धु्रव बहादुर खड्काका अनुसार बुधबारसम्म रु दुई करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो । 
प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि रु  २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि रु २१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो । 

प्रवक्ता खड्काका अनुसार सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि उनले जानकारी दिए ।    
 

शुक्रबार, १५ मंसिर २०८०, १३ : ०५

प्रतिक्रिया