काठमाडौँ महानगरपालिकाद्धारा २३० जना कर्मचारी माग , तलब सुविधा कति ?

शनिबार, १६ मंसिर २०८०, ०९ : ३९

काठमाडौं महानगरपालिकाले २३० जना कर्मचारी माग गरेको छ। महानगरले शनिबार सूचना जारी गर्दै गरिब घर-परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरिवेक्षक माग गरेको हो।

महानगरपालिकाले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिका भित्र गरिब घर-परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षण गर्दैछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली onlineapplication.kathmandu.gov.np मार्फत मात्र आवेदन दिनुपर्ने जनाइएको छ।

सुपरीवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ। यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र मासिक ३४ हजार ७३० रुपैयाँ हुनेछ। इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइने महानगरपालिकाले जनाएको छ।

गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ। यसमा पनि बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र तलब ३२ हजार ९०२ रुपैयाँ हुने जनाइएको छ। इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ।

370302239_891817602097803_7489775566591971570_n

शनिबार, १६ मंसिर २०८०, ०९ : ३९

प्रतिक्रिया