काठमाडौं – लोपोन्मुख अवस्थामा पुगेको गिद्धको पछिल्लो समय नेपालमा बढ्न थालेको छ । गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको बताइन्छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलो पटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिए । ‘रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो’, उनले भने, ‘हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।’समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ ।
गिद्ध संरक्षण गर्ने उद्देश्यले नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पुर्याएका बताए । समुदाय स्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ । ‘नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो’, उनले भने, ‘त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।’
प्रतिक्रिया