एनसेलको सेयर बिक्रीबारे सरकार बेखबर

मंगलबार, १९ मंसिर २०८०, १३ : ०१

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी नभएको बताएका छन् । एक प्रश्नको जवाफमा उनले अर्थतन्त्र सुधारको गतिमा रहेको उल्लेख  गर्दै अर्थतन्त्रले लय समाउन थालेको बताए ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले भने, ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’

ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उनको भनाइ छ ।

 एनसेलको सेयर बिक्रीबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।’

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए ।


 
 

मंगलबार, १९ मंसिर २०८०, १३ : ०१

प्रतिक्रिया