किन बन्द हुँदैछन् कार र मोटरसाइकलका डिलरहरु ?

३ महिना अगाडि

काठमाडौं - कोभिड १९ संक्रमणको समयमा पनि टिकेका अटोमोबाइल बिक्री गर्ने डिलरहरू अहिले धमाधम बन्द हुन थालेका छन् । डलर संचिति घटेको भन्दै सरकारले २०७९ वैशाखदेखि पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लगाएपछि क्रमिक रूपमा डिलरहरू बन्द हुँदै गएका हुन् ।अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अनुसार झण्डै १० महिना चलेको आयात प्रतिबन्धमा देशभर ५ दर्जन हाराहारीमा डिलरहरू बन्द भएका थिए । त्यतिबेला बचेका दुई पाङ्ग्रे सवारीसाधनका डिलरहरू अहिले धमाधम बन्द भइरहेका छन् ।

‘मोटरसाइकलको बिक्रीमा उच्च गिरावट आउँदा डिलरहरू बाँच्न सक्ने अवस्था रहेन । त्यसैले धमाधम बन्द गर्नुको विकल्प भएन । लगानी थप्दै डिलर बचाउने कुरामा पनि आधिकारिक बिक्रेताले सहयोग गरेका छैनन् । त्यसले लगानी थप्ने नगर्दा आँट आएन,’ चितवनका एक मोटरसाइकल बिक्रेताले भने ।पछिल्ला दिनमा पेट्रोल कार मात्रै बिक्री गर्ने कम्पनीका डिलरको अवस्था पनि त्यस्तै छ । उनीहरूले गाडी बिक्री हुनै छाडेको र आधिकारीक बिक्रेताले सहयोग नगरेको कारण डिलर बचाउन नसकिएको डिलरहरू बताउँछन् । यो विषय पुस २० गते काठमाडौंमा सम्पन्न नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको साधारण सभामा पनि उठेको थियो ।

‘हामीले गाडी बिक्री गर्दासम्म ठूलो जोखिम लिएर आधिकारिक बिक्रेतासँग किनेर ल्याएर राख्नुपर्ने । तर, हामीलाई अफ्ठ्यारो पर्दा आयातकर्ताले कुनै पनि किसिमको राहत दिनु नपर्ने । बरु उल्टै केही तिर्नु पर्ने रकमको बैंक ग्यारेन्टी दाबी गरेर डिलरलाई थुनाउने अवस्था आएको छ,’ काठमाडौंका एक कार डिलरका संचालकले भने ।अहिलेको अवस्थाले आयातकर्ता र बिक्रेता बीच निकै ठूलो व्यवसायिक खाडल बनेको देखिन्छ । लामो समय डिलर लिएर काम गर्दै आएका र अहिले आफैँ नयाँ ब्राण्ड ल्याएर बिक्री सुरू गर्ने तयारीमा रहेका जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको बुझाइ अलि फरक छ । उनी भन्छन्, ‘राम्रो हुँदा सबै राम्रो देखिने र समस्याको समयमा मलाई मात्रै समस्या परेको हो कि भन्ने बुझाइले थप समस्या आएको हुन सक्छ ।’

गेलालका अनुसार महँगो ब्याजदर, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको बिक्रीमा उच्च गिरावट र मोटरसाइकलको कारोबार पनि आधा कम भएसँगै डिलर समस्यामा आएका हुन् । यसले समग्र बजार, रोजगारी, उपभोक्ता र व्यवसायीलाई नै समस्या पारेको छ ।लामो समयदेखि डिलर लिएर काम गर्दै आएका अर्का व्यवसायी महेश पाल भन्छन्, ‘हामीले गाडी बिक्री गर्ने हो । कठिन समयमा पनि आफ्नो पूँजी लगाएर काम गरेकै छौं । समस्याको अवस्थामा डिलर बचाउन आधिकारिक बिक्रेताले पनि केही प्याकेज त दिनु पर्ने हो कि । यदि समस्यामा साथ दिए, राम्रो हुँदा परिणाम अझ राम्रो आउन सक्छ ।’

अहिले मोटरसाइकल र गाडीको शोमरु बन्द गर्ने अवस्थामा पुगेका दर्जनौं व्यवसायी आफ्नो नाम उल्लेख गर्न चाहँदैनन् । उनीहरूले आफ्नो आधिकारिक बिक्रेतासँगको हिसाब किताब राफसाफ गर्न सकेका छैनन् ।‘हामीले हिसाब फरफारक गर्न बाँकी छ । यदि अहिल्यै केही बोल्यो भने आर्थिक झमेलामा पर्ने निश्चित छ । त्यसैले आफ्नो आर्थिक लेनदेन सकेपछि डिलर छाड्ने योजना बनाएका छौं,’ अधिकांश डिलरको एउटै भनाइ छ ।यसले अटोमोबाइल क्षेत्रमा एकपछि अर्को समस्या थपिँदै गएको प्रष्ट हुन्छ । बजार शिथिल हुनु, डिलर लिएकाहरूले पनि छिटो प्रतिफलको लागि सेयर र घरजग्गामा पैसा लगाउनु जस्ता कारण अहिले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना भएको देखिन्छ ।

३ महिना अगाडि

प्रतिक्रिया