न्यूयोर्कमा सुरु हुँदै नेपालीको बैंक

५ बर्ष अगाडि

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपालीको लगानीमा बैंक सञ्चालनमा आउने भएको छ । एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएसँगै नेपाली समूदायको तीन वर्षदेखिको प्रयासले सार्थकता पाएको हो । 

न्यूयोर्कबाट शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको सो बैंकले निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत जारी गर्ने बताइएको छ । 

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले यस अघि नै आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका भए पनि नेपाली समुदायको लगानीमा सञ्चालन हुन लागेको यो पहिलो सामूदायिक वित्तिय संस्था हो । 

 ad
अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कहरुलाई कर छुट दिने भएकाले अन्य बैङ्कका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैङ्कको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । 

संस्था सञ्चालनलगत्तै नेपाली समुदायले पहिलो चरणमा चल्ती, बचत, सेवानिवृत र विशेष मुनाफा लगायतका खाता र विभिन्न शीर्षकमा ऋण सुविधा पाउनेछन् । साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण लगायतका सुविधाहरु प्नि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । 

अमेरिकामा बसोवास गर्ने सबै नेपालीलाई संस्थाको सदस्य र बचतकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य लिएको युनियनले अमेरिकाका सवै राज्यहरुमा शाखा विस्तार गर्ने अनुमति पाएको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा विस्तार गरी १० हजार निक्षेपकर्ता मार्फत २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरु क्रेडिट युनियनका सदस्य छन् । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रुपमा हेर्ने गरिन्छ जो नेपालको कोअपरेटिभ भन्दा भिन्न हो । अमेरिकामा क्रेडिट युनियनले बैङ्कसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरु नै यसका मालिक हुन् र उनीहरु नै मुनाफामा हकदार हुन्छन् । त्यसैगरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी)ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ । बाह्रखरीबाट

५ बर्ष अगाडि

प्रतिक्रिया