बढ्दैछ कांग्रेस पार्टी प्रवेशको लहर

५ बर्ष अगाडि

 मोरङको पथरीशनिश्चरे–३ किराती चौकमा गत सोमबार दिउँसो भएको कार्यक्रममा करिव ७० जना बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरे । लगत्तै सोहि साँझ सुन्दरहरैचाको सुक्रवारेमा नेकपासहित बिभिन्न पार्टीका ८१ जना कार्यकर्ता कांग्रेसमा गए । पुनः केहि समयपछि सुन्दरहरैचाको खोर्सानेमा पनि ५५ जनाले बिभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरे । 
मोरङको ३ नम्बर क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने लहरको उदाहरण मात्र हो यो । सो क्षेत्रमा यसरी नै कांग्रेसमा प्रवेशको लहर बढ्दै गएको छ । केहि दिन अघि पनि पथरीशनिश्चरे–७ मा पूर्व एमालेका वडाध्यक्ष लालबहादुर खड्का लगायत पनि कांग्रेस प्रवेश गरेका थिए । सोमबार मात्रै तीन ठाउँमा भएको कार्यक्रममा २ सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । 
नव प्रवेशीहरुलाई कांग्रेस महासमिति सदस्यहरु बसन्त भट्टराई, डा।सुनिल शर्मा, लोकप्रसाद संग्रौला, ललित श्रेष्ठ, जिल्ला सहसचिव शिव ढकाल, संगठन बिभाग प्रमुख मानबहादुर लिम्बु, क्षेत्रीय सभापति गणेश खड्का लगायतले अविर लगाएर पार्टीमा प्रवेश गराएका छन् । सो अवसरमा बोल्दै कांग्रेस नेताहरुले जनताको भावना बुझ्ने र जनमुखी काम गर्ने पार्टी कांग्रेस मात्र भएकाले कांग्रेसमा जनलहर बढ्दै गएको बताए । 
जनस्तरमा डा.शर्माको प्रभाव जम्दै 
यता पार्टी प्रवेश पश्चात मन्तब्य राख्दै शुक्रवारेका जयकुमार श्रेष्ठ, कुमार बयलकोटी र सूर्य भण्डारीले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारसमेत रहेका डा.सुनिल शर्माको सामाजिक कामका कारण आफुहरु प्रभावित भएको भन्दै डा।शर्माले जनतामा पुर्याएको सेवाको खुलेर प्रशंसा गरे । ३ नम्बर क्षेत्रका अधिकांस प्रवेशीहरु डा।शर्माकै प्रभावका कारण कांग्रेसमा आकर्षित हुँने गरेको कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्का बताउँछन् ।    
नेकपा एमालेको पकड मानिने सो क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार डा।शर्मा वर्तमान कानुन मन्त्री एवं एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । चुनाव अघि फराकिलो मतान्तर देखिएपनि डा।शर्माले ठुलो संख्यामा मत आफ्नो पक्षमा पार्दै मतान्तर घटाउँन सफल भए । नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा चुनावमा पराजित भएर पनि सो क्षेत्रका जनताको शिक्षा र स्वास्थ्य सेवामा निरन्तर लागिरहेकाले अन्य पार्टीका कार्यकर्ताहरु पनि उनकै प्रभावका कारण कांग्रेसमा प्रवेश गर्ने गरेको स्रोतको दावी छ ।
सामान्यतया केन्द्रिय नेताको उपस्थिती अर्थात बिशेष समारोहमा जुनसुकै पार्टीमा पनि पार्टी परित्याग र प्रवेशको क्रम चलिरहेको हुन्छ । तर, ३ नम्बर क्षेत्रमा भने स्थानीय नेताहरुकै उपस्थितीमा कांग्रेस प्रवेश कार्यक्रम हुने गरको छ । यता नेकपाका नेता बिनोद ढकाल पनि कांग्रेस पक्षधरले शिक्षा र स्वास्थ्य सेवालाई आधार बनाएर अन्य क्षेत्रको तुलनामा ३ नम्बर क्षेत्रमा बढी मात्रामा कार्यकर्ता र मतदातालाई प्रभावित पार्दै गएको स्वीकार गर्छन् । तल्लो स्तरमा समस्या देखिएपनि संगठित सदस्यहरुमा भने यो समस्या नदेखिएको उनको दावी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया