पेट्रोलियम पदार्थमा मूल्य वृद्धिप्रति काँग्रेस आक्रोशित

५ बर्ष अगाडि

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ । 

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए । 
 गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ । 
नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गरे । 
मंगलबार स्वर्गीय नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिएपनि जनतालाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गरे । 
उनले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सीमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’ मा चलिरहेको आरोप पनि लगाए । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गरे । 
 कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ । नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरे । 
उनले  सर्वोच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताए । 
 कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नविन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्याअर्पण गरेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया